लेखक प्रशान्त महासागरका दुई कृतिको भव्य लोकार्पण, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन

अर्थकागज
प्रकाशित: २१ असार २०८३
Image description

काठमाडौं। काठमाडौंस्थित सःसः त्वाः परिसरमा आयोजित एक विशेष साहित्यिक समारोहबीच स्रष्टा प्रशान्त महासागरका दुई कृति ‘अवधारणा’ र ‘परिचय’ को भव्य लोकार्पण सम्पन्न भएको छ। मनकामना क्राफ्ट एन्ड क्रियशनको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, कला, सञ्चार, शिक्षा तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा प्रमुख अतिथिहरूले संयुक्त रूपमा दुवै कृतिको लोकार्पण गर्दै प्रशान्त महासागरका सिर्जनाले जीवन, समाज, मानवीय सम्बन्ध, आत्मचिन्तन तथा सकारात्मक सोचका विविध पक्षलाई गहिराइका साथ प्रस्तुत गरेको उल्लेख गरे। वक्ताहरूले यी कृतिले नेपाली साहित्यमा नयाँ विमर्श सिर्जना गर्नुका साथै पाठकलाई जीवनलाई फरक दृष्टिकोणबाट बुझ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

यसै अवसरमा नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गरिएको थियो। साथै, साहित्य, पत्रकारिता, शिक्षा, कला, व्यवसाय तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको अर्को विशेष आकर्षण ‘परिचय’ कृतिसँग आबद्ध ५० जना ‘परिचयमित्र’ हरूप्रति विशेष सम्मान र आभार व्यक्त गर्नु थियो। लेखक प्रशान्त महासागरले कृतिको सफल प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सबै परिचयमित्रहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको योगदानलाई पुस्तकमार्फत सम्मान गरिएको बताउनुभयो।

समारोहमा बोल्दै लेखक प्रशान्त महासागरले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै आफ्ना कृतिहरूले पाठकमा सकारात्मक सोच, आत्मविश्लेषण र मानवीय मूल्यप्रतिको चेतना अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले आफ्नो सिर्जनात्मक यात्रामा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्ण पाठक, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो।

साहित्यकार, कलाकार, पत्रकार, शिक्षाविद्, समाजसेवी, व्यवसायी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त समारोहले नेपाली साहित्य, कला र सामाजिक योगदानलाई सम्मान गर्दै सिर्जनशीलताको प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर