काठमाडौँ महानगरभित्रका शिक्षण संस्थाका क्यान्टिन: स्वच्छता र खानाको गुणस्तरमा समस्या, दर्ता पनि छैनन्
काठमाडौँ । काठमाडौँ महानगरभित्र अनुगमन गरिएका शिक्षण संस्थाका क्यान्टिनहरु व्यवसायका रुपमा दर्ता नभएको पाइएको छ ।
महानगरले गरेको अनुगमनका क्रममा लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस, विद्या गृह तथा जनकनाथ स्मृति माध्यमिक विद्यालय, बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालय र शंखमुलमा रहेको केएमसी स्कूलमा रहेका क्यान्टिन दर्ता नभएको पाइएको हो ।
महानगरको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले खाद्य सेवाका विभिन्न क्षेत्रहरुको नियमित अनुगमन गरिरहेको छ । अनुगमनमा क्यान्टिनको स्वच्छता, खानाको गुणस्तर, भान्छा व्यवस्थापन, सामानको भण्डारणमा समस्या देखिएको छ ।
काठमाडौँ महानगरका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अनुगमन गरिएका क्यान्टिनको समग्र स्वच्छता अवस्था दयनीय रहेको बताएका छन् । शिक्षण संस्थाका व्यवस्थापकहरुले सुधार गर्छौँ भनेको तर आफैँमा नमूना हुनु पर्ने ठाउँ किन भएन प्रश्नको जवाफमा आलटाल गर्ने गरेको उनले बताएका छन् ।
सरसफाइ सामान्य रहेको, तयारी खाद्यवस्तु नछोपी राखेको, खाना तयार गर्ने र भाँडा माझ्ने ठाउँ सँगै साझा समस्या देखिएको र यी समस्या सुधारका लागि अनुगमन टोलीले निर्देशन दिने गरेको बस्नेतले जानकारी दिएका छन् ।
Shares