अस्थाई आवास निर्माणमा आफैं जुटन थाले भूकम्पपिडित

अर्थकागज
प्रकाशित: ०५ मंसिर २०८०
Image description

काठमाडौं । अस्थाई आवास निर्माणमा भूकम्प पिडितहरु आफै जुट्न थालेका छन् । तरङ्ग नेपालको सहयोगमा अस्थाई आवास निर्माणमा आफैं जुटन थालेका हुन् ।

भूकम्पको केन्द्रविन्दु जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा २ सय घर धुरीका लागि अस्थायी आवास व्यावस्थापन गर्ने लक्ष्य सहित जनसमुदायले व्यवस्थापन गरेको बाँसबाट अस्थायी आवास निर्माण कार्य आज बाट सुरु भएको छ ।

खाद्यान्न,औषधि र अस्थायी आवासको प्रवन्ध यथाशक्य गर्न नसके शीतलहर बाट जनजीवन आक्रान्त हुने देखिन्छ । भूकम्पको केन्द्रविन्दु स्थल बारेकोटको स्थलगत अनुगमनमा पुगेको तरङ्ग नेपालको टोलीको प्राविधिक तथा सामाग्री सहायता गरेको छ । बारेकोट गाउँपालिकाको समन्वय र समुदायको अग्रसरतामा १० घरधुरीको निम्ति डोम आकारको अस्थायी आवास निर्माण भएको छ ।

बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरीले पुन प्रयोग गर्न सकिने गरी जस्ता पाता र फलामको प्रयोग गरी आवास निर्माण भएपछि १० घरले केही राहतको महशुस गरेको बताएका छन् । पहिलो चरणमा १० अस्थायी आवास निर्माण भएको र तिहार लगत्तै अन्य अस्थायी आवासको निर्माण गर्ने तयारी रहेको कुरा तरंग नेपालका कर्णाली फोकल पर्सन ई नरेश खड्काको भनाइ रहेको छ ।

 तरंग नेपालका सचिव ई छविलाल अधिकारीले स्थानीय स्तरमा गाँस र औषधि उपचार पछि तत्कालीन आवश्यकता भनेको खुला आकाश मुनि रहेका जनताहरूलाई अस्थायी भए पनि बासको आवश्यकता रहेकोको बताए । “बास निर्माणको लागि समुदायलाई नै परिचालन गरी सामाग्री,स्वयंसेवक र प्रविधिको सहयोग गर्ने मोडालिटीबाट सरोकारवाला संघ संस्थाहरु अघि बढ्नु पर्छ,” उनले भने ।

अस्थायी आवासको काम सकिएपछि सरकार तथा संघ संस्थाहरुले ढिला सुस्ती नगरी भग्नावशेष पन्छाउने काम गर्नु पर्ने र त्यस पश्चात पुनर्निर्माणमा अघि बढाउनु पर्ने आवश्यकता रहेको कुरा आर्किटेक्ट विनोद नेपालले बताए ।

“ २०७२ सालको भूकम्प पछिको पुनर्निर्माणले हाम्रो पारम्पारिक तथा मौलिक निर्माण शैलीको संरक्षण गर्न सकिएको छैन,” आर्किटेक्ट सुगन्ध सुवेदीले भने ।

आर्किटेक्ट मधुसुधन बरालका अनुसार आर्किटेक्ट्स सोसाइटीको अगुवाइमा र तरङ्ग नेपालको सहयोगमा भूकम्प प्रभावित क्षेत्रको स्थानीय वास्तुकलाको अध्ययन भइरहेको छ ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका (रामिडाडा) केन्द्रबिन्दु भई कार्तिक १७ गते शुक्रबार ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।जिल्ला प्रशासन कार्यालय तथा पालिकाहरुले तयार गरेको तथ्याङ्क अनुसार,जाजरकोटमा मात्रै भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । अरू ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको पाइएको छ  ।

भूकम्पको इपिसेन्टर बारेकोट गाउँपालिकामा मात्र एक हजार ३५ घर पूर्ण र दुई हजार २८६ घरमा आंशिक क्षति पुगेको छ । जाडो मौसममा खुला आकाश मुनि कठिङग्रिएर रात काट्नु पर्दा भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्न थालेपछि पिडितहरु अस्थाई आवास निर्माणका लागि आफै जुरमुराएका हुन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर