बालमञ्जरी : बालमस्तिष्कमा चेतनाको दीयो...
हृदयको गहिराईमा अवचेतनमनमा उब्जेको भाव लहरी जब मस्ष्किमा ठोकिन पुग्छ तब शब्दहरू स्वस्फुर्त रूपमा कागजमा नाच्न थाल्छ । यसरी कागजमा उत्रेको शब्दहरू समाज निर्माण तहको दस्ताबेज बन्न पुग्छ । साहित्यिक सिर्जना केवल आत्मसन्तुष्टिको रूपमा मात्रै लेखिदैन । कुनै साहित्यकारले कृति जन्माउन एउटा सन्तानलाई योग्य बनाउनु जति नै मेहनत गरेको हुन्छ । जसरी योग्य सन्तानबाट देशको प्रगति हुन्छ त्यसरी नै कुनै कृतिले समाज परिवर्तनमा ठुलो भूमिका खेलेको हुन्छ ।
रीता बलामी मैले चिनेको लेखिका होइनन् । उनी दक्षिणकाली नगरपालिका फर्पिङ नगरीमा बसोबास गरेकी र नेपाली साहित्यमा प्रचुर सम्भावना भएकी लेखिका रहेछिन् भन्ने तथ्य हालै प्रकाशित दुई कृतिहरू (आभासपुञ्ज–गजल संग्रह र बालमञ्जरी–बालकविता संग्रह) पढेपछि बोध भयो । लेखिकाले स्नेहपूर्वक आफ्नो सन्तानरूपी कृतिलाई पाठकसामू सुम्प्याएपछि पढेर दुई शब्द लेख्नु सच्चा पाठकको धर्म हो भन्ने मेरो नैतिक विचार जुर्मुराएकाले केही लेख्न थालेँ । गजल संग्रह एकपटक सरसर्ती पढी सिध्याएँ पनि त्यसको मनोवैज्ञानिक गहिराई र प्राविधिक तथा सैद्धान्तिक पक्षहरूमा विशेष ध्यान दिनुपर्ने झन्झटबाट मुक्त हुने हिसाबले मैले ‘बालमञ्जरी’ लाई अगाडि सारेँ । म कुनै पुस्तकको समिक्षा, समालोचना गर्न सक्ने ल्याकत भएको साहित्यकार होइन, मात्रै किताब ‘पढेँ है’ भनेर लेखिकालाई जानकारी गराउँन यो आलेख तयार पार्दै छु ।
नेपाली साहित्यमा बालसाहित्य बालबालिकाहरूको भविष्य निर्माणमा सहायकसिद्धिको साधनका रूपमा हेरिँदै आएको साहित्यिक विधा हो । यस हिसाबले हेर्दा बालसाहित्यिक सिर्जना सबैको वसको कुरा होइन । बालमनोविज्ञान, बालमैत्री सोचमा डुबेर आफू पनि बालबालिका बन्न सक्ने वयस्क लेखिकाको क्षमतालाई सादुवाद भन्नै पर्छ । हामीले बुझ्दै आएको बालकविता रमाइलो, लयात्मक, नैतिक उपदेशले भरिएको, प्रकृति, जगत, देशप्रेम, प्रेरणायुक्त सन्देश तथा संस्कार सिकाउने माध्यम हो भन्ने मान्यताले पनि नेपाली बालसाहित्यलाई धेरै हदसम्म वयस्क दृष्टिको अधीनस्थ विधा बनाइदिएको देखिन्छ ।
लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे हुँदै हालसम्म आइपुग्दा पनि बालसाहित्य मूलतः बालबालिकालाई भोलिको असल नागरिक निर्माण तर्फ केन्द्रित गरेको विधा हो भन्ने रह्यो । अर्थात्, बालबालिकाले आज के भोगिरहेका छन् भन्नेभन्दा भोलि कस्तो बनोस् भन्ने चिन्ता प्रधान रहेको पाइयो ।
यही सन्दर्भमा रीता बलामीको ‘बालमञ्जरी’ नेपाली बालसाहित्यको मुख्य धारबाट स्पष्ट रूपमा भिन्न दिशामा उभिएको कृति हो भन्न कर लाग्छ । यो कृति बालबालिकालाई सुधार्ने, सिकाउने वा उपदेश दिने साधन मात्र होइन, बालक स्वयंले भोगेको यथार्थलाई स्वर दिने आवाज बन्न पुगेको मेरो ठम्याई छ ।
यस अर्थमा ‘बालमञ्जरी’ बालमनोविज्ञानको अभिलेख, बालन्यायिक सामाजिक प्रस्तावना, बालअधिकारको साहित्यिक घोषणापत्रको रूपमा कृति आएको म ठान्दछु ।
बालमञ्जरीमा जम्मा ४० वटा बालकविता समेटिएका छन् । 'नकुट न मलाई' कविता अत्यन्त मार्मिक घरेलु हिंसाविरोधी कविताबाट संग्रह सुरु भई 'उडुँ उडुँ' जस्ता बालसुलभ ध्वन्यात्मक कवितासम्म पुगेर संग्रहको टुङ्ग्याउनी भएको छ । बालमनोविज्ञानमा आधारित बालमैत्री भावनाको संरचनात्मक यात्रा नै कृतिको विशेषता हो, जहाँ पीडाबाट चेतनातर्फ, भयबाट अभिव्यक्तितर्फ, मौनताबाट स्वराङ्गनतर्फको क्रमिक विकास पाइन्छ ।
कविताहरूको आकार प्रायः लामा छन् । परम्परागत बालकविताको संक्षिप्तता यहाँ भङ्ग भएको छ । तर यो दोष होइन, बालबालिकाको जटिल मानसिक अवस्था, सामाजिक पीडा र भावनात्मक द्वन्द्वलाई व्यक्त गर्न लामो श्वास आवश्यक थियो, जुन भूमिका कवियत्रीले सफलतापूर्वक निभाएकी छन् ।
'नकुट न मलाई, डर, आनी' जस्ता कविताहरू नेपाली बालसाहित्यमा दुर्लभ रूपमा देखिने विषय हुन् । घरेलु हिंसाले बालमनोविज्ञानमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई केन्द्रमा राखेर लेखिएका यस्ता कविताहरूले बाल हिंसालाई रोक्न मदत गर्दछ ।
'नकुट न मलाई साना साना हातमा
डराउँछु, आत्तिन्छु, झस्किन्छु रे रातमा ।'
यी पंक्तिहरूमा कुनै अलंकारिक सौन्दर्यभन्दा बालमस्तिष्कमा परेका डरग्रस्त अवचेतना देखिन्छ । यो कविता वयस्कलाई लज्जित बनाउने सन्देश हो । बालबालिकालाई अनुशासनको नाममा गरिने हिंसाको विरुद्धमा यो कविता मौन प्रतिरोध पनि हो ।
'डर' कवितामा मद्यपान गर्ने बाबुबाट सिर्जित त्रास केवल पारिवारिक समस्या होइन, बालबालिकाको सम्पूर्ण जीवनदृष्टि बिगार्ने कारक बनेको छ । यहाँ बालकको सपना, पढाइ, आत्मविश्वास सबै डरको छायाँमा परेको देखिन्छ ।
'दुवै मेरा मुटु, भएँ फुटबल, मेरो कथा' जस्ता कविताहरूमा आजको नेपाली समाजमा बढ्दो सम्बन्ध विच्छेद, वैदेशिक रोजगार र भौतिक सम्पन्नताको आडमा लुकेको भावनात्मक अभाव उजागर भएका छन् ।
'दुवै मेरा मुटु' कवितामा बालकले कुनै वयस्कले गर्न नसक्ने स्तरको प्रश्न सोध्छ ।
'दुईमध्ये एक रोजी हुन्न मनलाई विश्राम
कि त मलाई राखिदिनु कुनै बालआश्रम ।'
यो कविता केवल भावुक बनाउने पंति मात्र होइन । यो समाजलाई नैतिक प्रश्न पनि हो । यहाँ बालकले अभिभावकको स्वार्थ र समाजको संवेदनहीनतामाथि प्रश्न उठाइरहेको छन् ।
'भएँ फुटबल' कवितामा पैसा, मोबाइल र सुविधा हुँदाहुँदै पनि माया नपाएको बालबालिकाको पीडा अत्यन्त सटीक र मार्मिक रूपमा आएको छ । यो कविता आधुनिक सहरी वर्गका अभिभावकहरूप्रति कडा टिप्पणीको रूपमा आएको आभास हुन्छ ।
'अभागी मोरी म, पानी चल्दैन, चित्त दुख्छ' आदि कविताहरूले सामाजिक संरचनाले बालमस्तिष्कमा पार्ने गहिरो असरलाई उजागर गर्छन् ।
'पानी चल्दैन' कवितामा जातीय विभेदको प्रश्न सरल तर घातक रूपमा औँल्याएका छन्,
'काटी हेर्दा यो शरीरमा रातै रगत बग्दोरैछ,
खुसी हुँदा हाँस्छु उस्तै दुखमा दिल दुख्दोरैछ ।'
यो कवितामा समाजशास्त्रीय सत्यको उद्घाटन भएको पाइन्छ ।
'चित्त दुख्छ' कविता त्यस्तै मार्मिक र सम्बेदनशिल छन् । जहाँ अपाङ्गताप्रति समाजको दयाभाव र खिसीप्रति तीव्र अस्वीकार छ । यहाँ बालकलाई सहानुभूति होइन, समान अवसरको खोजी गरिएको छ ।
'पाउन्न कोहीले छुन' नेपाली बालसाहित्यमा अत्यन्त साहसीक कविता भन्न रुचाउँछु । बालबालिकाको शरीरमाथि उसको स्वामित्वको कुरा अत्यन्त स्पष्ट रूपमा आएको छ । यसको लागि लेखिकालाई थप धन्यवाद पनि दिन चाहन्छु ।
'मेरो शरीर मेरै हक
पाउन्न कोहीले छुन ।'
यो कविता केवल बालबालिकाहरूका लागि मात्र होइन, शिक्षक, अभिभावक र समाज सबैका लागि निर्देशिकाको रूपमा लेखिएका प्रतिकात्मक अभिव्यक्ती हो । यसले बालसाहित्यलाई चेतनामूलक सामाजिक अभियानको बाटोमा कलम चलाउन सबैलाई प्रेरित गर्छ ।
कवियत्री रीता बलामीको भाषा सरल छ । बालबालिकाले सहजै बुझ्न र महसुस गर्न सक्ने बोलिचाली नजिक र बालअनुभूतिसँग मेल खाने खालको छ । कतै पनि अनावश्यक क्लिष्टता छैन । अलंकारभन्दा अनुभूतिको अवयव प्रधान छ ।
लय र छन्द स्वतन्त्र छन्, जुन आधुनिक बालकविताको आवश्यकता हो । कविताहरू भावपूर्ण र भोगाइबाट हृदयमा परेको अनुभूति उजागर गर्ने खालका छन् ।
निष्कर्श :
बालमनोविज्ञान र शिक्षाको सिद्धान्तअनुसार बालबालिका भन्ने शब्दले सामान्यतः १२ वर्षसम्म उमेरका बालबालिका भन्ने जनाउँछ । तर ‘बालमञ्जरी’ का सबै कविताहरू १२ वर्षसम्मका बालबालिकाको लागि मात्रै छैनन् । स्पष्ट रूपमा भन्नुपर्दा यी कविताहरू किशोर अवस्था वा सोभन्दामाथिका उमेर समूहका मनलाई पनि उत्तिकै प्रभाव पार्ने खालका पनि छन् । किन भने, यी कविताहरूमाः
– सम्बन्ध विच्छेद
– नशा
– यौन हिंसा
– आत्महत्याको संकेत
– राजनीतिक भ्रष्टाचार
जस्ता सामाजिक तत्वहरूले पनि प्रसय पाएको छ । यस आधारमा कृतिलाई बालसाहित्य मात्र होइन, यसलाई सबै उमेर समूहका परिपक्व बालसाहित्य भन्नु उपयुक्त हुन्छ ।
यो कृतिको विशेषतालाई केलाउने हो भने यसमा,
– बालबालिकाको अस्मिताको खोजी,
– हीनभावना विरुद्ध संघर्ष,
– आत्मसम्मानको वातावरण निर्माण,
– भविश्यप्रति आशावादी,
– उज्यालो भविश्यको कल्पना जस्ता भावनात्मक अन्तरद्वन्द्वात्मक संघर्ष पाइन्छ ।
यी सबै पक्षहरूलाई केलाउँदा कविता स्वाभाविक रूपमा आएका छन् । यसमा उपदेश भन्दा अनुभवको वहव बढी छन् । नेपाली बालसाहित्यमा ‘बालमञ्जरी’ ले के कुराको ओकालत गर्छ भने ः
– भावुकताबाट चेतनातर्फको यात्रा,
– उपदेशबाट अनुभव र तर्क गर्न सक्ने वातावरणको निर्माण,
– मौनतालाई भत्काएर बुलन्दतर्फ यसले डोर्याएको छ ।
यो बालकविता संग्रह पढेपछि रीता बलामी बालबालिकाका लागि लेख्ने कवियत्री मात्रै होइनन्,
उनी बालमनका प्रवक्ता पनि हुन् भन्ने मलाई लाग्यो । कृति पढिसकेपछि मेरो मनले के अनुभव गरे भने, बालबालिका साना र अबोध बच्चा मात्रै होइन, उनीहरू ठुला मानिस झैँ पूर्ण संवेदनशील र चेतनायुक्त मानव हुन् । उनीहरूको आत्मसम्मानमा कुनै ठेस लाग्ने कार्य कसैले गर्नुहुन्न भन्ने बोध भयो ।
त्यस अर्थमा ‘बालमञ्जरी’ नेपाली बालसाहित्यको एउटा महत्वपूर्ण दस्ताबेज हो भन्न कर लाग्छ ।
अन्त्यमा,
श्री रीता बलामीको यस कृतिमा संग्रहित कविताहरू सरल, भावपूर्ण र सम्बेदनशिल छन् । आफूले भोगेका, अनुभव गरेका बाल सुलभ जीवन र आफूले देखेका जगतको यथार्थलाई कविताको माध्यमबाट उजागर गर्दै भोलिको उज्यालो भविश्य खोज्ने कार्यमा इट्टा थप्ने काम गर्नुभएको छ । यस कृतिमा औँल्याउनु पर्ने ठुलो गल्ती कतै छैन । यत्ति हुँदाहुँदै पनि देखेका र अनुभव गरेका केही कम्जोरी औँल्याउनु पाठकको धर्म म ठान्दछु । किन पनि हो भने, कृतिभित्र नछिरी सतहमा गरेको पुस्तक चर्चा होइन भन्ने मेरो जिकिर हो । बालसाहित्य भन्नाले यसको पाठक पनि बालबालिका नै हुने हुँदा लेखक अत्यन्त सजक हुनु पर्ने हुन्छ । यस अर्थमा पुस्तकमा प्रयोग भएका मिथ्य, ब्याकरणणीय पक्षमा लेखकले ध्यान दिनै पर्छ । किन भने, उनीहरूले पुस्तकमा पढेकै कुरा सही हो भन्ने बुझ्छन् । कृतिमा मैले अनुभव गरेका ब्याकरणणीय कमजोरी केही मात्रमा पाएँ । जस्तोः 'थेन' थिएन लेख्दा पनि हुथ्यो । 'धोकै–छोकै' (धोएकै, छोएकै) लेखेको भए उनीहरूलाई बुझ्न र पढ्न सहजता मिल्थ्यो कि भन्ने मेरो विचार हो । ‘एकैपटक रुँदा हुन्थे मेरा, बजारका सारा खेलौना’ यी र यस्तै कतिपया पंक्तिहरू अर्मूत र बुझ्न कठिन खाल्का छन् । त्यस्तै, हिज्जेमा पनि कतैकतै ध्यान दिनुपर्ने देखिन्छ । जस्तो, 'आमा–काम' । यी कुराहरू गोण र सामान्य छन् तथापि कृति अत्यन्त ज्ञान बर्द्धक, बालमैत्री र बौद्धिक सुझबुजका साथ आएकोले सबै बालबालिकाले अतिरिक्त पठन सामग्रीको रूपमा पढ्नु पर्ने देखिन्छ । यसको लागि कवयित्री श्री रीता बलामीलाई हार्दिक बधाई दिन चाहन्छु । उनको काव्यिक यात्राको पाइलाहरू कहिल्यै नथाकियोस् । साहित्यिक उचाइ चुम्न सफल रहोस्, मेरो शुभकामना ।
तामाङ कवि तथा गीतकार हुन्
प्रतिक्रियाहरू
shekhar kumar Shrestha
4 months ago
राम्रो काम
shekhar kumar Shrestha
4 months ago
राम्रो काम
Shares