फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद !

अर्थकागज
प्रकाशित: ०३ असोज २०८०
Image description

वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्वको कसूर अन्र्तगत अर्काको कुरा सुन्न नहुने, अनुमति बिना कुनै व्यक्तिको तस्विर खिच्न वा तस्विरको स्वरुप बिगार्न नहुने, चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने, हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुने लगायतका कुरा समेटिएको छ ।
नेपालको संविधानले सबै नागरिकलाई गोपनियताको हकको ग्यारेन्टी गरेको छ । अर्थात व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुन अनुसार बाहेक कसैले अतिक्रमण गर्न पाइने छैन । त्यसैले ऐनले अर्काको कुरा सुन्ने र अनुमतिविना रेकर्ड गर्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ । यस्तै अनुमति बिना कसैको फोटो खिच्न पनि कानुनले निषेध गरेको छ । कसैको फोटो खिच्न वा अरु फोटो जोड्न पनि कानुनले प्रतिबन्ध लगाएको छ । यस्तो कसुर गरेमा १ वर्ष कैद वा १० हजार जरिवाना गरिएको छ । सार्वजनिक स्थानको फोटो खिच्दा कसैको फोटो देखिएमा भने कानुन नलाग्ने ऐनमा उल्लेख छ । कसैको तस्विर अर्कैको तस्विरसँग जोड्न नपाईने तथा विकृत रुपको तस्विर बनाउन र कसैको तस्विर जोडेर कार्टुन बनाउन नपाइने पनि ऐनमा उल्लेख छ । अब त्यस्तो कसुर गर्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय गरिने व्यवस्था छ । यस्तै अरुलाई हैरान पार्ने नियतले फोटोको दुरुपयोग गरेमा ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था पनि ऐनले गरेको छ । कसैले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह पनि गर्न नहुने ऐनमा उल्लेख छ । यदि यस्तो कसुर गर्नेलाई २ वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था ऐनले गरेको छ ।
यसैगरी टेलिफोन वा फेसबु्कबाट धम्की दिनेलाई १ वर्ष कैद वा १० हजार जरिवानाको व्यवस्था गरिएको छ । कसैलाई डर त्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र, पर्चा वा कुनै लिखत लेखाउने र विद्युतीय माध्यमबाट धम्की दिने, सताउने जिस्क्याउने वा अनुचित व्यवहार गर्नेलाई यस्तो सजायको व्यवस्था ऐनमा गरिएको छ । अनुमति नलिई अरुको घरमा छिर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।
गोपनीयता बिरुद्धका कसुरका सन्र्दभमा दर्फा २९३ देखि दफा ३०३ सम्म गरेका ब्यबस्था यस प्रकार छन् । अर्काको कुरा सुन्न वा ध्वनी अङ्कन गर्न नहुनेः (१) कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बिचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरी विना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनी अङ्कन गर्न हुँदैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । तर सार्वजनिक रुपमा गरिएको भाषण वा वक्तव्यको हकमा यो दफा लागू हुने छैन ।गोप्य कुरा प्रकट गर्न नहुनेः (१) कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानूनले वाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्न हुँदैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
अनुमति विना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुनेः (१) कसैले कुनै व्यक्तिको अनुमति विना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन हुँदैन । तर कसैले कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्वीर खिचिन गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।(३) कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । (४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुनेः (१) कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमति विना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन ।(२) उपदफा (१) बमोजिको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुनेः (१) अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमति विना कसैको चिठ्ठी खोल्न वा अरुले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर बिचमा सुन्न वा ध्वनी अङ्कन गर्न हुँदैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।२९८. विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुनेः (१) कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्न त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुनेः (१) कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुँदैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुनेः (१) कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले कुनै चिठ्ठी पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखत लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्क्याउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गर्न वा गराउन हुँदैन ।(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । अरुको शरीर खानतलासी गर्न नहुनेः (१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश वा सुरक्षाको प्रयोजनका लागि खटिएको व्यक्तिले अधिकार प्राप्त अधिकारीको अनुमतिले बाहेक कसैले सम्बन्धित व्यक्तिको स्वीकृति विना अरुको शरीर, सवारी साधन वा निजी प्रयोगका वस्तुहरुको खानतलासी गर्न वा गराउन हुँदैन ।
 कुनै किसिमको कानुनी सल्लाह चाहिए कमेन्ट बक्समा लेख्नुहोला । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर