ग्यास र इन्धनको कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी सुरु
काठमाडौँ । खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।
ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्याँस पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरुमा तेल मौज्दाज हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो ।
त्यस्तै पेट्रोल पम्पहरुले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएको भन्दै महानगरले ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरु ११८० र ९८५१३५६५०९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्याँस अहिलेसम्म नियमित रहेको तर माग धेरै भएकोले अभाव देखिएको छ ।
अर्कोतर्फ आयल निगमले अहिलेको समस्या समाधान गर्न भन्दै शुक्रबारदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण शुरु गरेको छ ।
Shares