यि चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

अर्थकागज
प्रकाशित: ०८ साउन २०८२
Image description

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहे पनि कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले मनसुन कमजोर अवस्थामा रहेको हो । यद्यपि, केही प्रदेशमा भने चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदलीको अवस्था छ भने बाँकी प्रदेशमा मौसम आंशिक बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा पनि भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ। भारी वर्षाका कारण ती क्षेत्रका नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै तराईमा डुबानको खतरा हुन सक्ने चेतावनी दिइएको छ । सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर