कुमारी बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानीका लागि सहकार्य
![](https://arthakagaj.com/frontend/src/img/logo_final_fav.png)
![Image description](https://arthakagaj.com/images/20250110132313news_image.iiii.jpg)
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपालपे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सेवा मार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने छन् । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ । सम्झौतासँगै, नेपालमा उपलब्ध नेपालपे क्यूआर र यसको इन्टरअपरेवल क्यूआरलाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् । यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउने छ । साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
Shares