आजदेखि यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सोमबारदेखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आइतबार जारी गरेको विशेष बुलेटिनमा पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ ।
यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ । त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने प्रक्षेपण छ ।
पश्चिमी वायुको अहिलेको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जानेछ । त्यसक्रममा मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शुक्रबार भने गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। पोखरेलका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भाग बढी प्रभावित हुनेछ । यो प्रणालीको असर काठमाडौं उपत्यकामा पनि देखिने छ । काठमाडौंमा पनि मंगलबारदेखि नै असर देखिन थाल्ने छ ।
Shares