सन्दीप लामिछानेलाई विश्वकप खेल्ने टोलीमा सहभागी गराइने

अर्थकागज
प्रकाशित: ०२ जेठ २०८१
Image description

नेपाल क्रिकेट संघ (क्यान) ले स्टार स्पिनर लामिछानेलाई आइसिसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेस्टइन्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई
सफाइ दिएलगत्तै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

यस निर्णयसँगै सन्दीपको आगामी टी–२० विश्वकपमा खेल्ने बाटो पनि खुलेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई विश्वकपमा सहभागी गराउन क्यानले प्रयास गर्ने बताए ।
उनले भने,“नेपाललाई विश्वकपसम्म पु¥याउने मुख्य पात्र सन्दीप नेपालको विश्वकप टिममा नहुँदा सबैलाई खल्लो लागेको थियो । तर अब सफाइ पाएपछि सन्दीप विश्वकप खेल्न योग्य हुनुभएको छ ।”
यद्यपि यसका लागि सन्दीपको फिट्नेस हेरिने छ भने आइसिसीसँग समन्वय गर्न पनि जरुरी छ । आइसिसीको नियम अनुसार मे २५ सम्म ठोस कारण देखाएपछि टिममा हेरफर गर्न पाउने प्रावधान छ । विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा भइसकेको छ । नेपाली टिम अहिले विश्वकपकै तयारीमा वेस्टइन्डिजमा अभ्यासमा व्यस्त छ ।
नेपालले सन्दीपलाई विश्वकप टिममा सहभागी गराउँदा एक सदस्यलाई टिमबाट बाहिर राख्नुपर्ने हुन्छ । राष्ट्रिय टिमको प्रतिनिधित्व गरेर खेल खेल्न विदेश जानुभन्दा एक दिनअघि भएको घटनालाई
लिएर लामिछानेमाथि बलात्कारको मुद्दा दायर भएको थियो । मुद्दामा जिल्ला अदालतले लामिछानेलाई २०८० पुस २५ गते आठ वर्ष कैद सजाय तोकेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर