१७ गुणा बढी माग भएको रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँट

अर्थकागज
प्रकाशित: ३० मंसिर २०८२
Image description

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज मंगलबार बाँडफाँट गरिएको छ ।

कम्पनीले जारी पूँजीको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ विधिमार्फत निष्कासन गरेको थियो । योग्य संस्थागत लगानीकर्ताका लागि निर्धारित ‘कट अफ’ मूल्य रु . ९१२ मा १० प्रतिशत छुट दिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्रतिशेयर रु. ८२०.८० को दरमा निष्कासन गरिएको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १,१५,५९६ कित्ता शेयरका लागि कूल ३५,१०२ जना आवेदकबाट १९ लाख ४४ हजार ३३० कित्ता शेयरको माग भएको थियो । यो माग निष्कासन गरिएको शेयरभन्दा करिब १७ गुणा बढी हो।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार न्यूनतम ५० कित्ताको सीमा तोकिएकाले गोलाप्रथा विधिद्वारा बाँडफाँट गर्दा ३५ हजार १०२ जना योग्य आवेदकहरूमध्ये २,३११ जनाले मात्र शेयर पाएका छन् । यी भाग्यशाली आवेदकहरूलाई न्यूनतम ५० कित्ताको दरले शेयर बाँडफाँट गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले छोटो समयावधिभित्रै उल्लेख्य सहभागिता जनाएर निष्कासन कार्यलाई सफल बनाएकोमा निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकले आभार व्यक्त गरेका छन् ।

उक्त बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइट www.globalimecapital.com.np, निष्काशनकर्ता कम्पनीको वेभसाइट www.reliancespinningnepal.com र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेभसाइट www.iporesult.cdsc.com.np मा राखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर