पियोर इनर्जीको आईपीओ जारी, ककसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । पियोर इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा आयोजना प्रभावितले १६ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेकाले ७ हजार २०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ। तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म लम्बिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि अवधि लम्बिने छैन।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ। पियोर इनर्जी आईपीओ जारी गर्ने पहिलो सौर्य ऊर्जा कम्पनी बनेको छ।
Shares