मनकामना र चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला

अर्थकागज
प्रकाशित: २७ साउन २०८०
Image description

काठमाडौं । आज (आइतबार) देखि दुई वटा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुल्ला भएको हो । 

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आइतबारदेखि २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर निष्काशन गरेको छ । यस अघि कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १६ हजार ६ सय २० कित्ता समेत थपेर सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।

चिरख्वा हाइड्रोपावर

चिरख्वा हाइड्रोपावरले आइतबारदेखि पहिलो चरणको आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ । 

कम्पनीले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको सेयर जारी गरेको हो । कम्पनीले १०० अंकित दरका कुल ४ लाख कित्ता सेयर स्थानीयका लागि निष्काशन गर्नेछ । यो आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले भोजपुरमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका स्थानीय शाखा, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन् । आईपीओको निष्कासन बन्द छिटोमा भदौ १० गते र ढिलोमा भदौ २५ गते बैंकिङ समयपछि हुनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर