नेपाल एसबिआई बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १०.५५% लाभांश पारित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा आज अर्थात पौष १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको छ । भव्य र सभ्य रुपले सम्पन्न भएको सभाले ३.७५% बोनश सेयर र ६.८०% नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ) गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत ) छलफल गरी पारित गरेको छ ।
साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड” आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत पारित गरेको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर उपाध्या एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
Shares