सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन-“कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन”


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएकाछन्। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको आइतबार निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन कार्यक्रममा उनले कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन्।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले भने, “कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन। कार्य सम्पादनपछि प्रतिवेदन पेस गरे हुन्छ। कानुन कार्यान्वयनमा ढिलासुस्ती, जिम्मेवारी बहनमा आलटाल र नागरिकलाई दुःख–हैरानी दिनेलाई पनि कानुन लाग्छ भन्ने ख्याल गर्नुहोला।”
उनले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै गैरव्यावसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने स्मरण गराए।
उनले भने, “सङ्गठनभित्र त्यस्ता आचरण गर्नेलाई बचाउने प्रयास गर्नेलाई कारबाहीको भागिदार बनाइएन भने कमान्डरविरुद्ध नै ‘एक्सन’ हुनेछ। गैरव्यावसायिक आचरण गर्ने साना–ठूला सबै प्रहरीलाई समान व्यवहार गरिने छ।”
Shares