रुस-युक्रेन युद्धमा ब्ल्याक सी ठूलो मोर्चा बन्दै
काठमाडौँ । रुस-युक्रेन युद्धमा ब्ल्याक सी अहिले युद्धको ठूलो मोर्चाका रूपमा देखिन थालेको छ । पछिल्लो करिब डेढ महिनामा दुवै पक्षले ३०० भन्दा बढी पानीजहाजलाई निशाना बनाएको बताइएको छ ।
निशानामा अनाज बोकेका पानीजहाज, तेल ट्यांकर तथा अन्य मालवाहक पानीजहाज परेका छन् । लगातारको आक्रमणका कारण ब्ल्याक सीको समुद्री व्यापार प्रभावित भएको छ । पानीजहाज सञ्चालकहरू यो मार्ग प्रयोग गर्नबाट जोगिन थालेका छन् भने माल ढुवानीको लागतसमेत बढिरहेको छ ।
यसको असर विश्वव्यापी खाद्य आपूर्तिमा पर्न सक्ने जोखिम बढेको छ । विशेषगरी गहुँ र मकैको मूल्य बढ्न सक्ने चिन्ता देखिएको छ । रुस र युक्रेनले संयुक्त रूपमा विश्वको करिब ३० प्रतिशत गहुँ निर्यात गर्ने भएकाले ब्ल्याक सी हुँदै हुने व्यापारमा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजार प्रभावित हुन सक्ने देखिएको छ ।
अगस्टमा रुसको कुल अनाज निर्यात गत वर्षको ५९ लाख टनबाट घटेर १७ लाख टनमा झरेको छ । यो करिब ७१ प्रतिशतको गिरावट हो । रुसको गहुँ निर्यात पनि ५० लाख टनबाट घटेर १३ लाख टनमा सीमित भएको छ । रुसी गहुँ खरिद गर्ने देशको संख्या ४३ बाट घटेर १६ मा पुगेको छ ।
त्यस्तै, रुसबाट अनाज पठाउने बन्दरगाहको संख्या ४७ बाट घटेर १० मा सीमित भएको छ । रुसको सबैभन्दा ठूलो नोभोरोसिस्क बन्दरगाहबाट हुने अनाज ढुवानी २४ लाख ९० हजार टनबाट घटेर १० लाख ४० हजार टनमा झरेको छ ।
बन्दरगाह र पानीजहाजमाथिको आक्रमण बढेपछि अनाजको समुद्री व्यापारमा गम्भीर असर परेको छ । रुस र युक्रेनका भण्डारमा अनाज रहे पनि खरिद गर्ने देशसम्म पुर्याउन कठिनाइ भइरहेको छ । यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा समेत देखिन थालेको छ । पछिल्लो एक वर्षमा गहुँको मूल्य करिब ३० प्रतिशतले बढिसकेको बताइएको छ ।
ब्ल्याक सीको समुद्री मार्ग प्रभावित भएपछि युक्रेनले सडक र रेलमार्गमार्फत अन्य देशमा अनाज पठाउने प्रयास गरिरहेको छ । तर यी मार्गको क्षमता ब्ल्याक सीका बन्दरगाहको तुलनामा निकै कम छ । डेन्युब नदीमार्फत पनि सीमित मात्रामा अनाज पठाइँदै आएको छ । तर नदीको जलस्तर र ढुवानी क्षमताका कारण यसले समुद्री मार्गबाट हुने निर्यातको पूर्ण विकल्प दिन सकेको छैन ।
ब्ल्याक सीमा बढ्दो तनावले गहुँसँगै मकैको विश्वव्यापी आपूर्तिमा समेत असर पार्न सक्ने देखिएको छ । सन् २०२५–२६ मा युक्रेनले २ करोड ३० लाख टन मकै निर्यात गरेको थियो। यो विश्वको कुल मकै निर्यातको करिब १२ प्रतिशत हो ।
हालको अवस्था लामो समयसम्म कायम रहे अन्तर्राष्ट्रिय बजारमा मकैको आपूर्ति पनि प्रभावित हुन सक्ने जोखिम रहेको छ ।
ब्ल्याक सी विश्वका प्रमुख समुद्री व्यापार मार्गमध्ये एक हो । रुस र युक्रेनबाट गहुँ, मकै तथा सूर्यमुखी तेलको ठूलो हिस्सा यही मार्ग हुँदै विश्वका विभिन्न देशमा पुग्ने गरेको छ । रुस र युक्रेनले संयुक्त रूपमा विश्वको करिब ३० प्रतिशत गहुँ निर्यात गर्ने भएकाले ब्ल्याक सीमा हुने सैन्य तनावको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय खाद्य बजारमा पर्न सक्छ । सन् २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएपछि ब्ल्याक सीबाट हुने अनाज निर्यातमा अवरोध आएको थियो। त्यसबेला विश्वभर खाद्य पदार्थको मूल्यमा तीव्र वृद्धि भएको थियो ।
पछि संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा ब्ल्याक सी अनाज सम्झौता लागू गरिएको थियो। त्यसबाट लाखौँ टन अनाज अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहज भएको थियो । तर अहिले ब्ल्याक सीमा पानीजहाज र बन्दरगाहमाथि आक्रमण बढ्दै गएपछि विश्वव्यापी खाद्य आपूर्तिलाई लिएर पुनः चिन्ता बढेको छ । समुद्री मार्ग लामो समयसम्म प्रभावित भए गहुँ, मकै र खाद्य तेलको मूल्यमा थप वृद्धि हुन सक्ने देखिएको छ । रुस र युक्रेनबाट हुने अनाज निर्यातमा बढी निर्भर देशहरूमा यसको प्रभाव अझ गम्भीर पर्न सक्ने जोखिम रहेको छ ।
Shares