बैंक बचत खाता स्किमको चमक धमक र नारन दाईको भान्सा !


यदि तपाईंहरु कसैले याद गर्नु भएको छ भने कुरिनटारस्थित मनकामना केवलकारबाट ओर्लिएर मनकामनातर्फ लाग्दा बाटोमा होटलहरु अगाडि खानाको बिज्ञापन गर्नेहरु प्रशस्त भेटिन्छन् । निकै रमाईलो शैलीमा उनिहरुले आकर्षक बिज्ञापन गरेको पाईन्छ । केहि बर्ष अगाडीको आफ्नै भोगाई सेयर गरें !
"ल है नारन दाईको चुल्होमा दाउरामा पकाएको निक्खर बासमती चामलको भात, आफ्नै बारीको जोगी तरकारी, जिम्मु झानेको लोकल दालमा तात्तात्तो घ्यु झ्वाईय झ्याईय पारेर लोकल खुखुराको मासुसँग सप्र्याक सप्र्याक्क पारेर खानुस्, मौका आउँछ पर्खदैन नारन दाईले चैं पर्खि रहन्छ। ल है हजुर बाटो नबिराउँ ! आजको खाना चैं नारन दाईकोमै है हजुर ?"
भन्दै नारन दाईले ग्राहक भित्र पठाएर थाल अगाडि सारेर बाहिर आएर पुन उही वाक्य दोहोर्याउन सुरु गर्छन् " ल है नारन दाईको चुल्होमा दाउरामा पकाएको..............!"
जसरी हुन्छ नारन दाईको उदेश्य बढी भन्दा बढी ग्राहक भित्र्याउनु मात्र हुन्छ। एकपटक ग्राहकको हातमा थाल परेपछी कसैले पनि वास्ता गर्दैन ! उनले बाहिर भट्याए जस्तो भित्र केही पनि अनुभुति हुँदैन । सायद एकपटक त्यहाँ पसेर खाएको ग्राहकले बिर्सिएर पनि पुन नारन दाई कहाँ जाँदैन ।
नारन दाईसँग मिल्दो जुल्दो बैंकिङ सन्दर्भ जोड्न चाहें । एउटा बैंक छ जसले नारन दाईको सिको गर्दै समय समयमा बिभिन्न नामको बचत खाताको योजना ल्याएको अनुभुती गराउँछ, जस्तै सुलभ बचत खाता , नारी शक्क्ति बचत खाता, स्वावलम्बी नारी बचत खाता, सेयर सुबिधा बचत खाता, प्रीमियम समुन्नती बचत खाता, न्यू प्रीमियम समुन्नति बचत खाता आदि ईत्यादी बचत खाता हुँदै अहिले एकै पटक २२ चमत्कारिक बचत खाता ल्याएछ जुन बैंकको नाम हो अहिलेको चल्तीको बैंक एनआईसि एसिया !
सबै जोड्दा बैंकको जम्मा ४९ प्रकारको त बचत खाता नै रहेछ, तर बचत खाताको ब्याज दर भने दुई खाले ४.७५% र ६.५०% मात्र रहेको छ । एउटा दु:ख लाग्दो कुरा चाहिं नयाँ नयाँ खाता ल्याउँदै जाने तर एक पटक खाता खोली सकेका सेवाग्राहीलाई भने वास्तै नगरेको देख्दा बैंकले नारन दाईको शैलीमा ग्राहक संख्या मात्र बढाउने रणनीति लिएको प्रष्ट देखिन्छ । पुराना खातालाई लक्षित गरेर समय समयमा नयाँ नयाँ स्किम ल्याउने गरे पनि त हुन्थ्यो।
यस्ता बचत खाताहरु हाल नबिल बैंकको २० र नेपाल ईन्भेष्ट्मेण्ट बैंकको १६ वटा , रहेका छन् । बैंकहरुले नयाँ नयाँ नाम न्वारन गर्दै आकर्षक बिज्ञापन गरेर ल्याईने बचत खाताको उदेश्य ग्राहक संख्या बढाउनु मात्र हो त ? जसको औचित्य प्रष्ट हुनु जरुरी छ । शिवचन्द्रको सामाजिक सञ्जाल फेसबुकबाट ।
प्रतिक्रियाहरू
Dhruba singh thapa
11 months ago
शिवचन्द्र डन संग एक पटक चिया कफी पिउदै गफ गर्ने मौका पाए धेरै आनन्दित हुन्थे होला!उहाँ को शब्द भाव ले मलाई मोहनी नै लगायो!
Shares