क-कसले पाउलान् विन नेपाल लघुवित्तको एफपीओ ?


काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ आइतबार (वैशाख ७ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ बजे आफ्नै कार्यालय ठमेल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । विन नेपाल लघुवित्तको एफपीओमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ ।
यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ । कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ चैत ८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म बाहल रहनेछ ।
Shares