साना तथा मझौला कम्पनीलाई सेयर निष्कासन गर्न विनियमावली बनाइँदै

अर्थकागज
प्रकाशित: ०८ फागुन २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार विनियमावली–२०८१ निर्माण गर्न समिति गठन गरेको छ । गत साता बसेको नेप्से सञ्चालक समितिको बैठकले सञ्चालक नेपाल राष्ट्र बैंकका प्रतिनिधि रोशन कुमार सिग्देलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई दुईवटा कामको जिम्मेवारी दिइएको छ । समितिले विनियमावलीको मस्यौदा बनाउने र अहिले नेप्सेले प्रयोग गरेको (प्रणाली)सिस्टममा थपघट गर्नुपर्ने विषयबारे सुझाव दिनेछ । नेप्सेले बनाएको विनियमावली सेबोनले स्वीकृत गरेर नेप्सेको सिस्टममा आवश्यक थपघट गरेपछि एसएमई प्लेटफर्म सञ्चालनमा ल्याइने छ ।

नेपाल धितोपत्र बोर्डले माघ ३ गतेदेखि साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागु गरेको छ । उक्त नियमावली लागु भएपछि बोर्डले नियमावली कार्यान्वयमा लैजान नेप्से र सीडीएससीलाई साना तथा मझौला कम्पनीको सेयर कारोबारका लागि छुट्टै एसएमई प्लेटफर्म निर्माण गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकेको छ । नियमावलीमा कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ । सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिति र बजारको अवस्था हेरि अर्थ मन्त्रालयको स्वीकृति लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर