साउन २७ गतेदेखि आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा आवेदन दिन सकिने


काठमाडौं । यही साउन २७ गतेदेखि आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१.५० अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले साउन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार ३१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको बताएको छ ।
कहाँबाट आवेदन दिने ?
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।
Shares