आईपीओमा म्युचुअल फण्डको कोटा हटाउँदै धितोपत्र बोर्ड !


काठमाडौं । चौतर्फी विरोधपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले म्युचुअल फण्डहरुले आईपीओमा पाउँदै आएको कोटा हटाउने भएको छ ।
बजारमा म्युचुअल फण्डहरुले उद्देश्यअनुरुप कार्य नगरेपछि आईपीओमा छुट्याइएको कोटा हटाउन सेबोनले गृहकार्य समेत गर्न थालेको हो ।
सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले अर्थ कागजलाई भने-'बजारमा आईपीओमा पाएको सुविधालाई म्युचुअल फण्डहरुले दुरुपयोग गरेको गुनासो आइरहेकोप्रति सेबानेको ध्यानाकर्षण भएको छ, म्युचुअल फण्डहरुलाई ५ प्रतिशत कोटा छुट्याइएको छ, यो सुविधा हटाउने गृहकार्य भैरहेको छ ।'
प्रवक्ता मुक्तिनाथ श्रेष्ठको अनुसार सेबानेको अब छिट्टै बस्ने बोर्ड बैठकबाट निर्णय भई म्युचुअल फन्डलाई आईपीओमा छुट्याइँदै आएको कोटा हट्नेछ ।
लगानीकर्ताहरुले म्युचुअल फण्डहरुले आईपीओमा पाएको कोटा सुविधाको दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् । विशेष गरी आईपिओ दोस्रो बजारमा लिष्टिङ भई ओपन रेन्जमा कारोबार खुलेको पहिलो दिनमै बेच्दा बजार घटाउन ठूलो भूमिका खेलेको लगानीकर्ताहरुको आरोप छ ।
Shares