६२ लाख ६३ हजारले बढ्‌यो निवर्तमान गभर्नर अधिकारीको सम्पत्ति, कति पुग्यो ?

अर्थकागज
प्रकाशित: २७ चैत २०८१
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको अमेरिकी डलर बाहेकको सम्पत्ति ६२ लाख ६३ हजार रुपैयाँभन्दा धेरैले बढेको राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । पाँचवर्षे कार्यकाल पूरा गरी बिदा भएका अधिकारीको नगद मौज्दात र म्युचुअल फन्डलगायत सुरक्षणपत्रको वृद्धिका कारण केही सम्पत्ति बढेको पाइएको हो । त्यस्तै अधिकारीले २०७६ चैतमा बुझाएको विवरणअनुसार सुनचाँदीको मूल्य पनि बढेको छ ।

उक्त अवधिमा उनको घर तथा जग्गाको मूल्य यथावत् छ भने बैंक मौज्दात तथा सञ्चय कोष रकम १३ लाख ८८ हजारबाट २८ लाख ४४ हजार रुपैयाँ पुगेको छ । खातामा रहेको रकम १ करोड ८ लाख ५१ हजार छ । नगद, सुन, चाँदीको मूल्य ५ लाख ३ हजारबाट बढेर ९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी म्युचुअल फन्डलगायत सुरक्षणपत्रमा लगानी वृद्धि भई १ करोड ५७ लाखबाट १ करोड ८९ लाख रुपैयाँ नाघेको छ । उनको खुद प्राप्त हुनुपर्ने रकम ६२ हजार ४०० रहेकोमा अहिले २४ लाख ९ हजार ९२३ रुपैयाँ ऋणात्मक हुन पुगेको छ। अन्य विभिन्न प्रकारका सम्पत्तिमा समेत सामान्य वृद्धि भएको छ । समग्रमा हेर्दा अधिकारीको कुल सम्पत्ति २०७६ चैतमा ३ करोड ४५ लाख ९१ हजार रहेकोमा २०८१ चैत २२ सम्म आइपुग्दा ३ करोड ६९ लाख ३६ हजार रुपैयाँ पुगेको छ। यसबाहेक उनको बैंक खातामा २८ हजार ६०८ अमेरिकी डलर मौज्दात छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर