पुस्तक समिक्षा: “चियाको चुस्की” लिँदै गर्दा
कहिलेकाहीं चिया पिउनुको आनन्द बेग्लै हुने गर्दछ । चियाको चुस्कीसँग कतिले दुःख विर्सन्छन् भने कतिले अलौकिक सिर्जना समेत गर्छन् । शुक्रबार सधै हतार हुन्छ मलाई घर जान । खास कुनै काम विशेष छैन तर पनि कहिले तीन बज्ला र घर जाउँला झैं हुन्छ मलाई । यो शुक्रबार पनि छिटो–छिटो घर पुगेँ र हातमुख धोएर बैठकमा बस्दै गर्दा जीवनसंगिनीले चिया ल्याएर दिइन् । चियाको चुस्की लिँदै गर्दा आज बेग्लै आनन्द महशुस भयो । अनि याद आयो साहित्यकार मोती शोभा श्रेष्ठको “चियाको चुस्की” । हालै प्रकाशित मोती शोभाको लघुकथा संग्रह “चियाको चुस्की” हात परेको थुप्रै दिन वितेर पनि पाना पल्टाउनसम्म पाएको थिएन । नढाँटि भन्दा जाँगर चलेको थिएन । आजको चियामा के जादु थियो यसै भन्न त सकिएन तर “चियाको चुस्की” पल्टाउने जाँगर चलायो ।
मरुटोल काठमाडौंमा माता हिरानानी ताम्राकार र पिता चैत्यरत्न ताम्राकारको सन्तानका रुपमा जन्मनु भएकी साहित्यकार मोती शोभाले अर्थशास्त्रमा एम.ए. गर्नुभएकी छ । कार्य संलग्नताको कुरा गर्दा उहाँ भूमिसुधार मन्त्रालयमा शाखा अधिकृतहुँदै सह–सचिवसम्म हुनुभएको छ । पढाई तथा जागिरे जीवनमा दर्जनौं देशहरु घुम्नुका साथै स्वदेशको पनि ३८ भन्दा बढी जिल्लाहरुको भ्रमण गरिसक्नुभएकी साहित्यकार मोती शोभाको आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् । गोरखा दक्षिणबाहु, शुभराज्याभिषेक, जनपद सेवा पदक, दीर्घसेवा पदक जस्ता थुप्रै पदकहरुले सुशोभित भैसक्नुभएकी मोती शोभाको साहित्य लेखन बढो गहकिलो र लोभलाग्दो देखिन्छ ।
“चियाको चुस्की” लघुकथा संग्रह मोती शोभाको पछिल्लो कृति पल्टाउँदै गर्दा कथाहरु मानवीय सम्वेगहरुले भरेको पाएँ । केही मध्यम र बढी लघु गरी ६० वटा कथाहरु समेटेको यो संग्रहले नेपाली साहित्यमा एउटा आयाम थपेको छ । कथाले मानिसको जीवनको भोगाई र मनभित्रको सम्बेदनाहरु बोक्ने हो, बोल्ने हो । समाजका विविध पक्ष र सांसारिक बन्धनहरुले चरित्र निर्माण गर्दछ र त्यहीं चरित्रले घटनाहरु तयार गर्छन् । यहीं घटनाहरुले कथा निर्माणको वातारण दिन्छ । स्रष्टा मोती शोभाका कथाहरुले पनि यस्तै मानवीय चरित्र, चेतना, घटना वा भोगाईका अनेक प्रतिविम्वहरु उजागर गर्ने प्रयास गरेको छ । युवाको प्रेमभावना, अधुरो प्रेमले दिने पीडा, निराशा, गाउँले जीवनको पीडा, खराब लतले जीवन बर्वाद हुने, प्रेम सफल हुनलाई परिस्थितिले साथ दिनुपर्ने जस्ता विषयहरु कथामा पाइन्छ । कतै कुलतले जीवन बर्वाद भएको, कतै सच्चप्रेम पनि समयको ज्वारभाटाले किनारा लगाएको, विरोजगारीको कारण परिवार छोडेर परदेशी बन्न परेको पीडा, चेतनाको कारण नारी जागरणको सुखत अनुभूतिहरु, राजनीतिक विसंगतिले युवामा वितृष्णा जागेको, बाल्यकालका सुखद सम्झनाहरु, सन्तानहरुमा आएको मनोभिन्नता, आमा बाबुको रेखदेख र माया नपाउँदा बालबालिकाको मनस्थितिमा आउने नकारात्मक विचार, प्रकृति र जीवजन्तुमा परेको असर र संरक्षणमा ध्यानपु¥याउनु पर्ने तर्फको विचारहरु पनि कथाहरुले बोलेका छन् । “एउटा नितान्त व्यक्तिगत दिन”, “खल्तीको रुमाल”, “तेलिया इँट”, मेरो पुरानो ग्यारेज”, कपुरको रुख जस्ता कथाले जीवन सुन्दर छ र यसलाई थप सुन्दर र सार्थक बनाउन मान्छेले सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने जिकिर गरेका छन् । प्रत्येक कथाको आफ्नै विशेषता र विम्व छन् । दुर्घटना निम्तिन सक्ने तर्फ सतर्क रहन जोड दिएको छ “तेलिया इँट” ले । गाउँले अभावको ब्यथा बोकेको कथा हुन् “टुटेको चप्पल” । मातृत्वको सुन्दर पक्षलाई सरल तरिकाले उजागर गरेको छ “आमाको प्यारो आँखिझ्याल र छाता” कथामा । स्वयम्भू दर्शन र डवली कथा विगत र वर्तमान शहरको रहनसहन र त्यसको प्रभाव बारे संस्मरनात्मक कथावस्तु छ । परिश्रम गर्ने र आफ्नै गाउँठाउँमा रमाउन सके शहरमा भन्दा गाउँको जिन्दगी अझ सुन्दर हो भनि देखाउन खोजेको छ “पानी” कथाले । शहरमा जतिपरिश्रम गर्छ त्यति उपलब्धी र खर्चको तालमेल नमिल्दा शहरीय जीवन भन्दा गाउँले जीवन सुखी हुन्छ भन्ने देखाउन खोजेको पानी कथा शिक्षाप्रथ पनि छ ।
त्यस्तै धानको बाला, पिपलको रुख, कपुरको रुख जस्ता कथाहरुले वातावरण र त्यससँग जोडिएका मानवीय पक्षहरुको ओकालत गरेका छन् । वातावरण जोगाएर इको सीस्टमलाई ब्यालेन्समा राख्न सके पृथ्वीमा रहेका सजीव तथा निर्जीव सबै वस्तु हाम्रो जीवन उपयोगि छन् भन्ने तर्फ चेतना भरेको कथाहरु हुन् यी कथाहरु ।
तुलनात्मक रुपमा प्रेमको विषयमा कथाहरु बढी देखिन्छ । सुकेको गुलाब, खल्तीको रुमाल, कल्पना, अन्तरद्वन्द, संगम आदि कथाहरु प्रेमका अनेक पक्ष र त्यसले निम्त्याएका सामाजिक तथा व्यक्तिगत पक्षहरुको समस्या र समाधान गर्न खोजिएका छन् । जात, धर्म, संस्कार र संस्कृति आ–आफ्नो ठाउँमा छन् तर त्यो भन्दा माथि उठेर जीवन र जगतलाई बुझ्नु पर्दछ भन्ने सन्देश यी कथाहरुमा पाइन्छ । सामाजिक विभेदलाई हटाउँनु पर्ने, मानवीय भावनाको कदर गर्दै समय र चेतनाको स्तर वृद्धिको आधारमा मनस्थिति परिवर्तन गर्दै लानुपर्ने र सबैको जीवनलाई सफल पार्न सबैको सकारात्मक प्रयास हुनुपर्ने जस्ता सन्देश कथाहरुमा पाउँन सकिन्छ ।
यस संग्रहका कथानक कथावस्तुहरु एकदमै समसामयिक, यथार्थपरक, शक्तिशाली र सान्दर्भिक छन् । जीवन, जगत र त्यससँग परस्पारिक अनेकौं सम्बन्धहरुलाई बढो सुन्दरढंगले कथानक बनाएको अनुभूतिहरुले कृति ओजस्वी बन्न पुगेको छ । कोभिड १९ जस्ता विश्व महामारी र त्यसले मानवजीवनमा पारेको नकारात्मक प्रभावहरुलाई कम गर्न उठान गरेको केही कथाहरुमा कथाकारको लेखन शील्पि र कौशलता देखिएको छ । अभिव्यक्ति शैली सरल एवं ज्ञानवर्धक छन् ।
............फोनमा नचिनेको मानिसको आवाजमा अंग्रेजीमा केही बोल्दै थियो ः “किरणको गाडी दुर्घटनामा परेर हस्पिटलमा ल्याइएको, डाक्टरहरुको कोशिषको बाबजुत पनि उनलाई बचाउन सकिएन”....एउटा नितान्त व्यक्तिगत दिन ।
.........ईशालाई प्राप्तिमा भन्दा वलिदानमा माया चोखो रहन्छ भन्नेमा विश्वास थियो–खल्तीको रुमाल ।
........दुईघण्टाको बाटो काटेपछि चप्पल टुट्यो । टुटेको चप्पललाई झारले बाँध्न थालेँ । एकछिन्सम्म चल्यो फेरी टुटी हाल्यो । विना चप्पल हिंड्नु पर्दा निकै गाह्रो भयो । गाउँका बुढाबुढी यसरी नै विना चप्पल हिंडिरहेको सम्झँदा नराम्रो लाग्यो –टुटेको चप्पल ।
.....भिख माग्ने क्रममा लाइनमा बसिरहँदा एउटा रातो चिल्लो नयाँ कार त्यहीं गाडी पार्किङमा रोकियो । आज त ठूलै भीआईपी आयो क्यारे, राम्रै पैसा पाउने किरणको मनमा आशा पलायो । गाडीमा आएको मान्छे देखेपछि किरण झसंग भए, कोही नभएर आफ्नै भाई केशव रहेछ– समय ।
......डायरीको अन्तिम पेजमा लेखिएको हरफले म झस्किएँ । त्यहाँ लेखिएको थियो “आफ्नो तर्फबाट उनीसँग कुरा गर्न नसकिएपछि परिवारबाटै विहेको प्रस्ताब गर्न लगाएँ । दुवै तर्फबाट स्वीकृति पाएपछि अब डायरी लेख्न परेन ।” –सुकेको गुलाब ।
....साथिको कुराले अनिश छानाबाट खसे भैmं भए । कल्पनाले बेलायतमा बस्ने केटालाई कसरी मन पराएछिन् । माया, प्रेमको कुरासम्म पनि नबुझ्ने केटीलाई त्यो केटाले कसरी मन पराए होला भनी सोच्दै गर्दा अनिशको दिमाग शून्य भयो । टाउको फुट्ला जस्तो गरी दुख्यो –कल्पना ।
......एकदिन आमालाई सोधेँ “आमा तपाईले कतिसम्म पढ्नु भएको होरा ? मेरो साथीहरुको आमा त धेरै पढेको हुँदा जागीर खानुभएकी रे” –पोथी बासेको ।
......जन्म र मृत्युको बीचको समय नै हाम्रो जीवन हो । सायद मानिसहरु पर्यटकको भिसा लिएर संसार भ्रमणमा आएको हुन्छन् । कोही लामो भिसा त कोही छोटो भिसा लिएर कोही पहाड, कोही तराई, कोही शहर त कोही गाउँमा पर्यटक भएर आएका हुन्छन्– सूर्यास्त ।
.......दुबै मृगौलाले काम गर्न त पहिले नै छोडिसकेको थियो । डायलसिसको भरमा थिए तैपनि यतिछिटै साह्रो होला भनी कसैले पनि कल्पना गरेका थिएनन् । घर खर्च, औषधी खर्च धान्न पर्ने भएकोले दाजुको बोझ केही हल्का गर्ने विचारले सन्ध्याले विदेश गएर थप पढ्नुको साटो नोकरी गर्ने निर्णय लिएकी थिइन् –अन्तरद्वन्द ।
यी माथिका हरफहरु प्रतिनिधि मात्र हुन् । कथाकारले यस्ता चाखलाग्दो विषय र घटनाहरु संग्रहका कथाहरुमा समाबेश गरेकी छन् जुन हाम्रो दैनिक जीवनसँग मेल खाना पुगेका पनि छन् । मोती शोभाद्वारा लेखित सबैजसो कथामा मान्छेको सकारात्मक सोचलाई बल पु¥याउने खालका सन्देशमुलक विषय र भाव छन् । सबै कथाहरुको आ–आफ्नो विशेषता छन् तर पनि मोती शोभाज्यूले सामाजिक दायित्वको वोध गरेर लेख्नुभएको कथाहरुले समाज र जगतको कल्याणका लागि केही सन्देश दिन खोजेको कथाहरु उत्कृष्ट छन् । बरिष्ठ साहित्यकारद्वया श्री शंकरप्रसाद कोइराला तथा श्री ध्रुव मधुकर्मीज्यूले सम्मति लेख्नुभएको “चियाको चुस्की” मा मैले आफ्नो विचार लेखिरहँदा पाठक विचार मात्रै भनि बुझिदिन हुन सबैमा अनुरोध छ ।
अन्त्यमा, यसरी पुस्तकको चर्चा गरिरहँदा सबै विषयवस्तुलाई समाबेश गर्न असमर्थ छु, यसका लागि क्षमा चाहन्छु । ६० वटा शिर्षकहरु राखेर तयार पारिएको कृतिमा उल्लेख गर्नै पर्ने कमी कमजोरी त छैन तथापि कुनै कुनै कथामा अगाडीको कथाहरुमा आएको घटना, पात्र र विषयवस्तु मेलखान गएको जस्तो लाग्छ । लघुकथा नामै लघु भएकोले घटना र परिघटना एकै विषय र एउटै घटनामा कथा सकाउनु र थोरै शब्दमा कथा छर्लंक पार्न सक्नु नै कथाकारको विशेषता हो । यस अर्थमा केही कथाहरु अलि अकारको हिसाबले ठूलो पनि हुन पुगेका छन् । अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । साथै लेखकीय कार्य निरन्तर अघि बढिरहोस्, मेरो शुभकामना ।
लेखक: मोती शोभा श्रेष्ठ,
पुस्तकको नाम: चियाको चुस्की
विधा: कथा
प्रकाशक: विश्वमान श्रेष्ठ
प्रकाशन वर्ष: विसं २०८० जेष्ठ
सर्वाधिकार: लेखकमा सुरक्षित
मूल्य: रु ५००।–
मुद्रक: चान्सर प्रिन्टर्स, ज्ञानेश्वर, काठमाडौं ,
सम्पर्क: बालकुमारी, ललितपुर, फोनः ९८४१६६६६९८
Shares