फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८० दिलीप थापा मगरलाई
मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान गरेको छ ।
फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार थापा मगरलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
त्यस्तै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ । त्यसैगरी ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया पाल्पा, जीवन लामा दोलखा र उन्नति चौधरी कैलालीलाई पुरस्कृत गरिएको छ ।
२०५८ सालमा नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गर्नु भएका दिलीप थापामगर नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो ।
नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको रूपमा नेपाली पत्रकारलाई नेतृत्व प्रदान गरिसक्नु भएका थापा आफैले पाँच वर्षदेखि सरोकार टेलिभिजन सञ्चालन गर्दै आउनु भएको छ । न्यूज एजेन्सी हिमालयन टेलिभोइसका अध्यक्षसमेत रहनु भएका थापाले जनजाति आवाज, अमेरिका नेपाल टेलिभिजन लगायतमा काम गरिसक्नु भएको छ ।
जनसेवा श्री पदक, राष्ट्रिय पत्रकारिता पुरस्कार र प्रधानसेनापति प्रशंसा पदकसमेत पाइसक्नु भएका पत्रकार थापालाई यस वर्ष ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ प्रदान गरिएको हो ।
Shares