५-१-२०८१, बुधबार

तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन चैत्र २३ र २४ गते राजधानीमा आयोजना हुने

अर्थकागज
प्रकाशित: २०८०-१२-२१
Image description

काठमाडौं । यस वर्षको राष्ट्रिय अर्थशास्त्री सम्मेलन यहि चैत्र २३ र २४ गते राजधानीमा आयोजना हुने भएको छ ।
राष्ट्रिय चरित्र अनुरुपको स्वाधीन र समुन्नत अर्थतन्त्र निर्माणमा योगदान पु्याउने उद्देश्यकासाथ राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले वर्षेनी आयोजना गर्दै आएको यो तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हो ।
सम्मेलनको आयोजनाका लागि आवश्यक सम्पूर्ण तयारीका कार्यहरु अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष गंगा बहादुर थापाले जानकारी गराउनुभयो ।
एकातर्फ, पछिल्लो दशकमा बढ्दै गएको अनियन्त्रित आयातले राष्ट्रिय उद्योगलाई धरासायी बनाउँदै मुलुकलाई परनिर्भर र आर्थिकरुपमा थप अस्थिर बनाउँदै लगेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट हुने लगानी पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन सकिरहेको छैन । बैंकिङ क्षेत्रमा नियमित जसो देखिने तरलता समस्या र अस्थिर व्याजदरको कारणले लगानीको वातावरण बन्न सकिरहेको छैन ।
अर्कोतर्फ, सरकारको न्यून राजस्व संकलन र नयाँ संघीय शासन प्रणालीको कार्यान्वयन सँगै बढ्दो नियमित खर्च, अनियमितता र भ्रष्टचार जस्ता कुराहरुले बढावा पाउँदा संघीय प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ । यसका साथै दक्ष तथा युवा जनशतिmको बढ्दो विदेश पलायनले देशको जनसांखिक संरचना र श्रमबजारमा असन्तुलन पैदा गरी तिव्र आर्थिक बृद्धि सहित समृद्ध राष्ट्र निर्माण गर्ने अभिलाशामा ठेस पुग्ने देखिन्छ ।
यसै परिस्थितिलाई मध्येनजर गर्दै नीतिगत तथा संरचनागत परिवर्तन मार्फत उत्पादन र उत्पादकत्व अभिबृद्धि सहित राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ र मजबुद गराउनका लागि प्राज्ञिक तथा अर्थराजनीतिक स्तरबाट गरिनुपर्ने पहलकदमीको महशुसका साथ वार्षिक कार्यक्रमका रूपमा यो सम्मेलन आयोजना गर्ने गरिएको आयोजक संस्थाले जनाएको छ ।
तेस्रो अर्थशास्त्री सम्मेलनमा नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतीको चुनौती र अवसरहरु, बैंकिङ्ग क्षेत्रमा नियमित जसो देखिने तरलता समस्या र अस्थिर ब्याजदरले उत्पादन क्षेत्रमा पारेको प्रभाव, संघीयतामा सुशासनका सवालहरु, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि र
बजारीकरणका समस्याहरु, लघुवित्त र सहकारी लगाएत पर्यटन, शिक्षा, बीमा, सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित १० भन्दा बढि कार्यपत्रहरुमा छलफल हुने संस्थाका अनुसन्धान विभाग प्रमुख डा. केशवराज पन्थीले जानकारी गराउनुभयो ।
सम्मेलनमा प्रस्तुत कार्यपत्रहरुमा प्राज्ञिक बहस चलाई प्राप्त निष्कर्षलाई सरकार, राजनीतिक दलहरु तथा नीति निर्माणमा सम्लग्न निकायहरुलाई कार्यान्वयनको लागि पठाइने आयोजक संस्थाले जनाएको छ ।
दुई दिने सम्मेलनलाई उद्घाटन सत्र र प्राविधिक सत्र गरी दुई भागमा विभाजन गरिएको आयोजक संस्थाले जनाएको छ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको पहिलो दिनको कार्यक्रम काठमाण्डौको राष्ट्रिय सभागृहमा चैत्र २३ गते शुक्रबार दिउसो २ बजे सुरु हुने बताइएको छ ।
अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै सभामुख, पूर्व प्रधानमन्त्रीहरु, अर्थमन्त्री र पूर्व अर्थमन्त्रीहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरु, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरु, राष्ट्रबैंकका गभर्नर तथा पूर्व गभर्नरहरु, प्राध्यापकहरु, वरिष्ठ तथा उदयीमान अर्थशास्त्रीहरु, स्थानिय निकायका प्रमुखहरु, उद्योग, व्यवसाय तथा वित्तिय क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु, अनुसन्धानकर्ता तथा पेशाकर्मीहरु आदीको सहभागिता रहने बताइएको छ ।
यस सम्मेलनमा प्रस्तुत कार्यपत्र, कार्यपत्र उपर टिप्पणीकर्ताको टिप्पणी तथा सम्मेलनको निष्कर्षलाई प्रोसिडिङको रुपमा तयार गरी नेपाल सरकार तथा सम्बन्धित नीति निर्माणकर्ताहरुलाई बुझाइने र यसले मुलुकको समतामूलक आर्थिक सम्मृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोजकले गरेको छ ।
विगतका वर्षहरुमा पनि यस संस्थाले राष्ट्रिय अर्थशास्त्री सम्मेलन सफलतापूर्वक सम्पन्न गरी सम्मेलनको निष्कर्ष सहितको प्रोसिडिङ प्रकाशन गरी नेपाल सरकार तथा सम्बन्धित नीति निर्माणकर्ताहरुलाई पठाएकोमा सम्बन्धित क्षेत्रबाट अधिकांश सुझावहरु कार्यान्वयनको प्रक्रियामा लगेबाट सम्मेलनको आवश्यकता र उपादेयता पुष्टि भएको आयोजक संस्थाको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर