मौद्रिक नीति आज सार्वजनिक हुने, सेयर कर्जाको सिमा पुनरावलोकनको तयारी

अर्थकागज
प्रकाशित: १० साउन २०८१
Image description

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्ने तयारी राष्ट्र बैङ्कको छ । मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा राखेर राष्ट्र बैंकले आज बिहान ८ बजेका लागि बोर्ड बैठक बोलाएको छ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले मौद्रिक नितिको थप अध्ययनका लागि समय मागेकाले पनि गत शुक्रबारका लागि तय गरिएको मौद्रिक निति सार्वजनिक कार्यक्रमलाई स्थगित गरिएको थियो । पछिल्लो समय खतिवडाले सार्वजनिक रुपमै सेयर कर्जामा लगाएको सिमा हटाईनु पर्ने धारणा राख्दै आएका थिए । स्रोतका अनुसार राष्ट्र बैङ्क मौद्रिक नीति मार्फत सेयर कर्जामा लगाएको सिमालाई परिमार्जन गर्ने र सेयर धितो कर्जाको जोखिम भार घटाउने तयारी गरेको छ ।

अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत समेत गरिसकेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर