उदयपुरको आठ मध्ये सात पालिकाको बजेट आयो
उदयपुर । उदयपुर जिल्लाका ८ स्थानीय तह मध्ये सात वटा पालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१। ०८२ कालागि वार्षिक बजेट नगरसभामा प्रस्तुत गरेका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा कटारी नगरपालिकाले भने कार्यपालिका बैठक बस्न नसकेका कारण सोमबार नगरसभा हुन नसकेपछि बजेट ल्याएको छैन ।
उदयपुरको सदर मुकाम रहेको गाईघाट स्थित त्रियुगा नगरपालिकाले २ अर्ब १५ करोड ७१ लाख ५७ हजारको बजेट ल्याएको छ । यो चालु आ.ब को भन्दा ६८ करोड ७१ लाख बढी छ । चालु आ.ब मा घाटा बजेट रहेका कारण १ अर्ब ४७ करोडलाई संशोधन गरेर संशोधन गरेर १ अर्ब ७७ करोडको बजेट खर्च गरिएको थियो ।
त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईले आगामी आर्थिक वर्षकालागि बजेट प्रस्तुत गर्दे भौतिक पूर्वाधार विकास निर्माण तथा शिक्षा स्वास्थ्य कृषि लगयतका क्षेत्रमा बढी बजेट रहेको जानकारी दिएकी छिन ।उदयपुरकै अर्को नगरपालिका चौदण्डीगढीले ७९ करोड ६३ लाख ३६ हजारको आगामी वर्षकालागि वार्षिक बजेट प्रस्तुत गरेको छ । प्रत्येक वडामा नगरस्तरीय कालोपत्रे सडक निर्माण गर्ने गरी र नगरको गौरवको आयोजनालाई सफल पार्ने गरी ल्याइएको बताइएको छ ।
यसैगरी बेलमा नगरपालिकाले पनि आगामी वर्षकालागि ३९ करोड ३६ लाख १८ लाखको बजेट सार्वजनिक गरेको छ ।उदयपुरगढी गाउँपालिकाले ८० करोड ८९ लाख २३ हजारको र ताप्ली गाउँपालिकाले ३८ करोड ४७ लाख ८६ हजारको बजेट आगामी वर्षकालागि गाउँसभामा प्रस्तुत गरेको छन् ।यसैगरी रौतामाई गाउँपालिकाले ५७ करोड ६ लाख ९७ हजारको र लिम्चुङबुङ गाउँपालिकाले ३१ करोड १ लाख ६७ हजारको बजेट आगामी वर्षकालागि प्रस्तुत गरेको छन् ।
Shares