कामना सेवा विकास बैंकद्वारा कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

अर्थकागज
प्रकाशित: १६ कात्तिक २०८३
Image description

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको 'कामना सेवा फुट्सल कप’ को छैठौं सिजन आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृत लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ , नेपाल खेलकुद पत्रकार मञ्च तथा इकोनोमिक मिडिया एसोसिएसन संघ (इमान) बीच मैत्रीपूर्ण खेलहरू आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतिस्पर्धामा नापिजले उपाधि जित्न सफल भएको थियो । मैत्रीपूर्ण खेलसँगै सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

पुरुषतर्फको फाइनल खेलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ । त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै यस सिजनको उपाधि आफ्नो नाममा गर्न सफल भएको छ ।

प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोहमा समेत बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाहरूबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै आएको छ । यस प्रतियोगिताले विभिन्न संस्थाका कर्मचारीहरूलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्ने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अवसर प्रदान गर्दै आएको छ । उक्त प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गदैंछ ।  


प्रतिक्रियाहरू

सम्बन्धित खबर