आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न ः अब कामना सेवा क्यापिटल हुने

अर्थकागज
प्रकाशित: ०८ मंसिर २०८३
Image description


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ । यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा मिति २०८३ मंसिर ७ गते सोमबार बिहान ११ः०० बजे कम्पनीको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पन्न भएको छ । बैंकद्वारा संस्थापक शेयर अधिग्रहण सम्पन्न भएपछि आयोजित यो पहिलो वार्षिक साधारण सभा हो ।

समान्य प्रस्ताव तर्फ सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत पारित गरेको छ । यसैगरी, कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त हुनुभएका कमर्चारीहरूको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ ।

विशेष प्रस्ताव तर्फ सभाले कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । यसबाट कम्पनीको पुँजीगत आधार थप सुदृढ हुनेछ । साथै, आगामी व्यावसायिक विस्तार तथा नयाँ लगानीका अवसर उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ । यसै गरी, कम्पनीको नयाँ स्वामित्व संरचना र संस्थागत पहिचानलाई प्रतिबिम्बित गर्ने उद्देश्यले संस्थाको हालको नाम …आकाश क्यापिटल लिमिटेड’ बाट परिवर्तन गरी …कामना सेवा क्यापिटल लिमिटेड’ कायम गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी नयाँ नामबाट सञ्चालनमा आउनेछ ।

कामना सेवा विकास बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा अघि बढिरहेको कामना सेवा क्यापिटल लिमिटेडले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी वित्तीय सेवाहरूको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ । पारित प्रस्तावहरूको कार्यान्वयनसँगै कम्पनीको संस्थागत क्षमता अभिवृद्धि तथा व्यावसायिक विविधीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ । साथै, कम्पनीले नेपालको पुँजी बजारको विकासमा योगदान र्पुयाउँदै लगानीकर्तालाई विविध वित्तीय सेवा तथा लगानीका अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर