नबिल बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने
नबिल बैंक लिमिटेडले पूँजीकोष बढाउन ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने प्रस्ताव नबिल बैंक सञ्चालक समितिले गरेको हो ।
बैंकको सञ्चालक समितिले प्राथमिक पूँजीको हिस्साको रुपमा रहनेगरी नियमनकारी निकायको स्वीकृपछि उक्त सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त सेयर साधारणमा कन्भर्ट नहुने र मुनाफा भएको वर्षमा मात्रै ८ प्रतिशत लाभांश वितरण गर्नेगरी जारी गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको हो ।
उक्त सेयर धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएर कारोबार गर्न सकिने छ भने उक्त सेयर ऋणपत्र जस्तो अवधि पूरा भएपछि रकम फिर्ता नहुने तर बैंकले १० वर्षपछि सेयर बिक्रीको लागि होल्ड गरेकालाई आह्वान गर्न सक्नेछ ।
त्यस्तै सञ्चालक समितिले ८ वर्ष अवधिको लागि ८ प्रतिशत ब्याजदरको नबिल बैंक डिवेञ्चर २०८९ पनि जारी गर्ने प्रस्ताव समेत गरेको छ ।
Shares