मनसुन सक्रिय, देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेकाले हाल देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायतका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बुधबार राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। सो अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares