करिब तीन किलोमिटर सडक बनाउन एक अर्ब बजेट

अर्थकागज
प्रकाशित: २२ मंसिर २०८०
Image description

उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिका भित्रको वडा नं १० र ११ मा पर्ने करिब ३ किलोमिटर सडक निर्माणका लागि विश्व बैंकले १ अर्ब सहयोग गर्ने भएको छ ।

गाईघाट बजारको पिपल चोकदेखि उत्तर तर्फ बरुवा खोला नजिक सिमलटारसम्मको करिब ३ किलोमिटरको दुरीमा विश्व बैंकले उक्त रकम खर्चेर सडक निर्माण गर्न लागेको हो ।

तीन वर्षदेखि ध्वस्त यो सडक पहिले नगरपालिकाले कालोपत्रे गरेको भए पनि कमजोर निर्माण संरचना र माटो राम्रोसँग नपेली, नबसाई कालोपत्रे गरेकोले धवस्त भएको थियो । वर्षाका समयमा आएको भेलले सडकको कालोपत्रे भत्किएर खाल्डा खुल्डी भएको र सवारी साधन संचालनमा समस्या हुनुका साथै दुर्घटना हुने संभावना बढेकोमा स्थानीयले सडडक मर्मत संभारकालागि पटक पटक माग गर्दै आएका थिए ।

निर्वाचनका समयमा पनि मुद्दाको विषय बन्ने गरेको उक्त सडक बजारबाट बरुवा पुल जान छोटो दुरीमा रहेको छ । अहिले गाईघाट बजारबाट बोक्से करमगाछी हुँदै बरुवा पुल पुग्न घुमेर करिब ४ किलोमिटर पार गर्नु हुन्छ ।

गाईघाटबाट रौता, सल्ले, भुट्टार, जाँते बलम्ता, लिम्चुङबुङ तथा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल, हलेसी, बुँइपा लगायतका ग्रामिण क्षेत्रमा जाने साना ठुला सवारी साधनहरु यही बाटो भएर चल्ने गरेका छन् । तर सडक ध्वस्त भएपछि घुमाउरो बाटोबाट चल्छन् भने दशैका समयमा गिट्टी बालुवा हालेर सडक मर्मत भएपछि यातायात संचालनमा केही सहज भएको यातायात व्यवसायीहरुले बताए ।

यस सडकका बारेमा त्रियुगा नगरपालिका वडा नं ११ का वडाध्यक्ष सुमन्त कोइरालाले विश्व बैंकको सहयोगमा सडक निर्माणको तयारी भएको र सडक १८ मिटरको हुने, दाँया बाँया नाला सहित सडक निर्माण गरिने बताएका छन् ।

त्रियुगा नगरपालिकाका प्रमुख मेयर बसन्त बस्नेतले पनि विश्व बैंकले सडक निर्माणकालागि एक अर्ब सहयोग गर्ने भएको जानकारी दिंदै डिपिआर तयार भैसकेकोले बोलपत्र आब्हानको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर