नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । यस आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहनेछ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कहाँबाट आवेदन दिने ?
यस कम्पनीको आईपीओमा लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट लिमिटेडले आईपीओलाई आइआरएन बीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ ।
Shares