चौदण्डीगढीमा हात्ती आतंक लाखौँको क्षती
उदयपुर । मंगलबार राती जंगली हात्तीले आतंक मच्चाउदा चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा लाखौँको क्षती भएको छ ।
गएको मंगलबार बिहानको राति जंगलबाट गाउँ छिरेका हात्तीले स्थानीयको घर भत्काई दिएका थिए भने अन्नवालीमा क्षती पुर्याएका थिए । जिल्ला प्रहारी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार जंगलबाट गाउँ छिरेका हात्तीले चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका बिरेन्द्र बास्तोला, ईन्द्र नारायण चौधरी र वन्दना आचार्यको घरमा क्षती पुर्याउनुका साथै अन्नवाली नष्ट गरेको हो ।
हात्तीले बास्तोलाको सिमेन्टको खम्बा भएको दुई तले काठे घरको अगाडी पट्टीको भागमा पूर्ण क्षती पुर्याउदा अन्दाजी दुई लाख बराबरको क्षती भएको छ भने चौधरीको एकतले पक्की घरको पश्चिम पट्टीको झ्याल र टिनको छानो टाटीबेरा भएको भान्सा घर समेतको पश्चिम पट्टीको टाटी भत्काउदा करिव ५० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार जंगली हात्तीले वन्दना आचार्यको घरमा क्षती पुर्याउदा करिव २० हजार बराबरको क्षती पुर्याएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालले वडा वासीलाई सुरक्षित रहनु आग्रह गर्दै जंगली हात्तिको आतंकबाट पीडित बनेकाहरुलाई तत्काल राहत उपलब्ध गराउन र उनीहरुलाई सुरक्षित स्थानमा बस्ने ब्यबस्था मिलाउन सरोकारवाला निकायसंग माग गर्नु भएको छ । सुन्दरपुरमा हरेक बर्ष जाडोको समयमा जंगली हात्तीले दुःख दिदै आएको छ ।
Shares