धार्मिक सहिष्णुताको आधार, धार्मिक पर्यटनको विकास

चन्द्रलाल तामाङ
प्रकाशित: २४ वैशाख २०८२
Image description

सुसेली साहित्यिक प्रतिष्ठानको अध्यक्ष रामराजा के.सी.जीले फोन गर्नुभयो र भन्नुभयो –यहीं मिति २०८२ साल जेष्ठ ४ गतेदेखि जेष्ठ १२ गतेसम्म दक्षिणकाली नगरपालिका वडा नं. ४ तथा वडाबासीको विशेष पहलमा श्रीमदभागवत सप्ताह महायज्ञ संचालन हुन गइरहेकोले ४ नं. वडा अध्यक्ष श्री पुष्कर खड्काज्यूको आग्रहमा सुसेली साहित्यिक प्रतिष्ठान कार्यसमितिको तर्फबाट सप्ताह महायज्ञ सफल पार्न सहयोगि भूमिका निर्वाह गर्नुपर्ने जानकारी दिनुभयो । वडा कार्यालयको प्राङ्गन बाँसबारीमा संचालन हुन गइरहेको महायज्ञको उद्देश्य सम्पूर्ण मन्दिर व्यवस्थापन, धार्मिक पर्यटनको विकास तथा समस्त पितृ उद्धारको लागि श्रीमदभागवत सप्ताह महायज्ञ संचालन हुन गइरहेको भन्ने मुलभूत उद्देश्य थाहा पाएँ ।

दक्षिणकाली नगरक्षेत्रभित्र धार्मिक पर्यटनको हिसाबले विकासको प्रचुर सम्भावना बोकेका थुप्रै ठाउँहरू मध्ये केही समय पहिले केही स्थानहरूको भ्रमण तथा अवलोकन गर्ने मौका पाएको थिएँ । जसलाई यात्रा संस्मरणको रूपमा मैले सुरक्षित राखेको थिएँ । आज फेरि धार्मिक पर्यटनको विकासको लागि श्रीमदभागवत सप्ताह महायज्ञ हुन लागेको जानकारी सहितको निमन्त्रणा प्राप्त हुन आएकाले उक्त संस्मरण यहाँ प्रस्तुत गर्न मनासिव ठान्दछु :

भरखर साहित्यमा कलम चलाउँदै गरेकी तर निक्कै ससक्त गजल लेख्ने विनिसासँगको परिचयले ममा एककिसिमको उर्जाको संचार गरेको थियो । विनिसाले छुट्टिने बेलामा गहभरि आँसु पारीन् । मलाई समेत त्यो क्षणले एकछिन भावुक बनाइदियो । दक्षिणकाली नगरको एकफन्को मारेर डोल्लुमा छुट्टिन खोज्दा विचरीले आँखाभरि आँसु पार्न थाली र मलाई समेत भावविह्वल बनाइन् । मैले उसलाई सान्त्वना दिँदै भनेँ “एकदिन अवश्य भेट हुनेछौं, फेरि सुसेलीकै अर्को साहित्यिक जमघटमा ।” लामो समयसम्म हात मिलाएर बिदा हुन लाग्दा मनमा एक तमासको न्यास्रो अनुभव हुँदै थियो ।

दक्षिणकाली नगर क्षेत्रमा साहित्यिक गतिविधिमा निक्कै नाम कमाएका सुसेली साहित्यिक प्रतिष्ठानले गत वर्ष ठूलै साहित्यिक मेलाको आयोजना गरेको थियो । सो साहित्यिक मेलामा म पनि पुगेको थिएँ । उत्कृष्ट साहित्यिक माहोलमा सत्कारपूर्ण आथित्यले सबै साहित्यकारहरू निक्कै पुलकित भए । साहित्यमा राष्ट्रिय स्तरमा योगदान पु¥याएका विभिन्न साहित्य साधकहरूलाई सम्मान समेत गरेको सो कार्यक्रम पश्चात म लगायत केही साथीहरू दक्षिणकाली नगरक्षेत्रभित्रका धार्मिक, ऐतिहासिक, शैक्षिक, प्राकृतिक र सामाजिक वस्तुस्थितिको अवलोकन गर्ने कार्यक्रम तय भयो । फर्पिङ नगरीको आफ्नै ऐतिहासिक चिनारी छ । काठमाडौं उपत्यकाको काँठक्षेत्रमा विकसित नगरमध्येको पुरानो नगर हो फर्पिङ ।

बाँसबारीले आफ्नै शालिन्दा र मौलिकता बोकेको पाइन्छ । दक्षिणकाली नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवी हिलसाइड रिसोर्टमा सम्पन्न भएको साहित्यिक मेलापछि हामी मोफसलका साहित्यप्रेमीहरू स्थानीय वस्तुस्थितिको अवलोकनमा जुट्यौं । पहिले–पहिले फर्पिङ भनेपछि नासपातीको पकेटक्षेत्रको रूपमा चिनिन्थे । तर अहिले जमाना फेरिएको छ, रहनसहन र दैनन्दिनी फेरिएको छ । त्यसैले फर्पिङ अहिले बहुआयमिक चिनारी बोकेर अगाडि बढिरहेको पृथक शहरको रूपमा विकसित भैरहेको छ । धार्मिक स्थल चम्पादेवी माईको दर्शन गर्न जान सक्ने पैतल मार्ग यताबाट पनि जाँदो रहेछ । तर समयको आभावले हामी यताको यात्रामा भने जान सकेनौं । वडा नं. ४ को बाँसबारीको सिरानमा रहेको शिवको मन्दिर दर्शण गर्न हामी मूलबाटोबाट सिँढी चढ्दै उकालो लाग्यौं । कवि विनोद खत्री ‘आकाश’ भिडियो बनाउन व्यस्त देखिन्थे । सिँढी नै सिँढीको बाटो ठाडो उकालो गज्जबको एक्सरसाइज हुँदोरहेछ । बिचबिचमा जाईको स्वागत जस्तो फूलको गेट बनाएको रमाइलो लाग्यो । विनिसा रोमान्चीत हुँदै तस्विर लिन ब्यस्त थिइन् । सबैजना दृष्यावलोकन र तस्विर कैद गर्नमै ब्यस्त भए । करिब दश मिनेट जत्ति सिँढी चढेपछि पहरामा ओडार जस्तो ठाउँमा शिवको मूर्तिसहितको मन्दिर रहेछ । भित्तामा एउटा घर बनाएर त्यसको छदमा शिवलिङ्गहरू लहरै बनाएको रहेछ । यहाँ हिंड्दा धार्मिक मनोभाव हुनेहरूलाई विहानीपख मोर्निङवाकको मनग्य कसरत हुने रहेछ । मन्दिरको प्राङ्गनबाट पारीपट्टि भैंसेपाटि, खोकना, चापागाउँ, टीकाभैरवदेखि गोदावरी फुल्चौकी डाँडासम्म छर्लङ्ग देखिने बढो मनोरम दृष्यावलोकन गर्न पाइदो रहेछ । फास्टट्रयाकले अल्पत्र छोडेको तल बागमती करिडोरको छेउछाउको हरियाली फाँटले मन आनन्दित पार्यो । जे भएपनि धान खेतको केही अवशेष देख्न पाइन्थ्यो ।

जुमन किरण लगायतका साथीहरू ओर्लने तरखर गर्दैगर्दा दिननाथ सरले यतै माथि–माथिबाट जानेबाटो देखाउँदै अगाडि बढ्नु भन्नु भयो । हामी त्यतैको गोरेटो बाटो पहिल्याउँदै हिंड्यौं । केही पर सिंगो भित्तो कोपेर बडेमानको नेपालको राष्ट्रिय झण्डा बढो सुन्दरपूर्वक निर्माण गरेको रहेछ । सायद नेपालको पहिलो ठाउँ होला, नेपालको झण्डालाई जमिनको भित्तामा यसरी निर्माण गरेको । यो देखेर हामी सबै पुल्कित भयौं । सबैले प्रकृतिमाथि लमतन्न भएर ठडिएको नेपालको झण्डा ब्याकग्राउण्डमा पारेर एकल र सामुहिक तस्विरहरू खिच्यौं । विनिसा टिकटक बनाउनमा ब्यस्त रहिन् । जलन जी ऐसेलु र काफलको बुट्टामा झुन्डिदै काफल टिप्दै हुनुहुन्थ्यो । मदन दाई हरिणको सिं कस्ले भाँचेछन् भन्दै भूइँमा झरेको हरिणको सिं हातमा लिएर देखाउँदै थिए । उता भावकेश्वर गुरू गैंडाको सिं भाँचेकोमा चिन्चित हुँदै संरचना संरक्षण हुन नसकेकोप्रति गुनासो गर्दै हुनुहुन्थ्यो । त्यहाँबाट केही माथि चढेपछि अर्को मनोरम स्थल पुग्यौं । त्यहाँ सम्भवत् नेपालकै अग्लो र ठूलो मध्येमा पर्ने शिवजीको त्रिशुल ठडिएको रहेछ । त्रिशुल भएको क्षेत्र निक्कै फराकिलो र व्यवस्थित पाइयो । त्यहाँ काठमाडौं लगायत दक्षिणकाली र वरिपरिको मान्छेहरूको विदा मनाउन वनभोज जाने ठाउँको रूपमा प्रयोगमा आउन सक्ने उचित वातावरण देखेँ ।

बढेमानको त्रिशुलको फेदमा बसेर जीवन प्रभासले एउटा कविता फुराइहाले । सुरिहालिन् कवयत्री जानुका अन्जान । यत्तिकैमा त्रिशुलको प्राङ्गनमा सानोतिनो साहित्यिक सम्मेलन नै बस्यो । सबैको भावना र सद्भाव मिल्ने भनेकै साहित्यमा रहेछ जस्तो लाग्यो । यहाँ घनिष्ठ सम्बन्ध भएकाहरूको त विचार मिल्दैन तर हामी एकअर्कामा अपरिचित व्यक्तिहरू पनि वर्षौंको सम्बन्ध भइआएको परिचित जस्तै भयौं । कसैले कुनै विषयमा लेखेको सिर्जना अर्कोले खुलस्त पढिदिने, नमिलेको छ भने सच्च्याइदिने, सौहार्दपूर्ण व्यवहार देखाउने भनेकै साहित्यमा लागेकाहरूमा मात्रै हुँदो रहेछ जस्तो लाग्दै थियो ।

पर्यटकीय हिसाबले बाँसबारी विकसित हुँदै गइरहेको पायौं । यसैमा स्थानीय जनप्रतिनिधिको प्रशंशा गर्न पनि हामीले भ्यायौं । तर यस्ता सार्वजनिक संरचनाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न पहल नभएकोप्रति हामी सबैले गुनासो ग¥यौं । त्यतिन्जेलमा केही साथीहरूले गुरासको दुइचार वटा फूलहरू ल्याइसकेका थिए । यसैमा विनिसाले भनिन् “लिनोस् सर, मेरो उपहार तपाइलाई ।” उनी मसँग निक्कै झ्याम्मिएकी थिइन् । मैले उनलाई विनि भनेर बोलाउन थालिसकेको थिएँ ।

हामी त्यहाँबाट तल ओल्र्यौं । आयोजकले बाटो छेउको एउटा रेष्टुरेण्ट्मा खानाको व्यवस्था मिलाएका थिए । खाना खाइवरी हामी पुनः अवलोकनमा निस्क्यौं । गणेशथान, पुरानो चौतारा हेर्दै हामी पुग्यौं सोखेल ड्यामसाइट । चन्द्रशमसेरको पालामा निर्माण गरेको नेपालकै पहिलो जलविद्युद आयोजनाको ड्याम भएको ठाउँमा हामी पुग्यौं । बस्तीको बिचमा मनोरम डाँडा खनेर बनाएको ठूलो पोखरी र कन्चन पानी । पोखरीबाट ठूलो किटयुक्त फलामको पाइपबाट पानी ओरालेर तल पावरहाउस्को टर्वाइन् घुमाएपछि विजुली निस्किन्थ्यो रे । अनि त्यहाँ उत्पादिन विजुली सिधै काठ्माडौंमा श्री ३ चन्द्र समशेरको दरबारमा बालिन्थ्यो रे । तर हामी तल पावरहाउसतिर भने गएनौं । किन भने अहिले त्यसको उत्पादन बन्द रहेकोले म्यासिनहरू बन्द कोठाभित्र कैद गरी राखिएको जानकारी पायौं । हाल पोखरीको पानी त्यहीँ पाइप मार्फत ललितपुर भैंसेपाटि हुँदै जवलाखेलसम्म खानेपानीको लागि वितरण गरिँदोरहेछ । पोखरीमा पानीको जोहो भने वडा नं. ३ सोखेल स्थित सातमूलेबाट र वडा नं. ५ स्थित शेषनारायणको शेषकुण्डबाट पाइप मार्फत पोखरीमा जम्मा गरिँदो रहेछ । शितल डाँडामा ऐतिहासिक पोखरी वरिपरि हरियाली चौर, पिपल चौतारी, प्राकृतिक सुन्दरछटाले मन लोभ्याउने भएकाले घुमन्तेहरूको रोजाईमा यो स्थान पनि पर्दोरहेछ । पिकनिक आउनेहरू र म्यूजिक भिडियो सुटिङ गर्नेहरूको उस्तै भीड हुने यो ठाउँमा जो कोहीलाई सुस्ताउने मन हुँदोरहेछ ।

त्यहाँबाट हामी उकालो सल्लाघारीतिर लाग्यौं । बाटोमा प्रायः सबैको बारीमा हरियो खागसब्जी र केही न केही फलफूलको बोट, बोटमा फलेको फलफूल अनि गोठमा बाँधेको गाईवस्तु देख्दा आफ्नै गाउँघर जस्तो लाग्ने । लटरम्ब फलेको अमलाले “मुखै रसायो” विनिसाले भनेपछि बाटोको डिलमा उभिएर अमलाको एउटा हाँगो तान्न लागेको थिएँ, खुट्टा टेकेको ठाउँको माटोको ढिस्को कतिखेर भत्किन पुगेछ, थाहै भएन । म गुटमुटिएर एक काँत्ला तल झरेँ । तैविसेक अमलाको एउटा हाँगो भने भाँचिएर हातमै आएछ । पाँच÷छ दाना अमला हातमा आएको हाँगामै थियो । लड्नुको पीडा भन्दा उनलाई अमला खुवाउन पाउने हर्ष ठूलो थियो । उनी हाँस्दै बाटोमै उभिएकी थिइन् । “चोट त लागेन सर ?” भन्दै उनले पाइटमा लागेको माटो टकटकाई दिइन् । हामी एकएक वटा अमला चुस्दै उकालो लाग्यौं । सल्लाघारीमा भरखर निर्माण सम्पन्न भएको झोलुङ्गे पुल तरेर पारि गोपालेश्वरतिर जानुपर्ने थियो । लामो झोलुङ्गे पुल देखेपछि उनले नाटक देखाइन् । झोलुङ्गे पुलमा डर लाग्छ भनि मेरो हात समातेर मात्र पुलमा चढिन् । पुलको विचतिर के पुगेका थियौं, एकजना साथीले पुललाई बेस्सरी हल्लाई दिए । डरले हो या किन हो उनी चिच्याउँदै मेरो अंगालोमा बेरिन आइपुगिन् । म हेरेको हे¥यै भएँ । केही साथीहरूले थुमथुमाएपछि उनले रातो अनुहार लगाउँदै हात समाउन छोडिन् । हात समातेर हिंड्दा मलाई त रमाइलै भएको थियो । पुल हल्लाउने साथीलाई मनमनै गाली पनि गरेँ ।

पुलपारी सल्लाघारीमा पुगेपछि हामीले केहीक्षेण विश्राम लियौं । केहीबेर जङ्गलको शितल स्वच्छ हावापानपछि केहीक्षेणको हिंडाइमा पुगियौं गोपालेश्वर मन्दिर । पौरानिक कथा अनुसार गोपालेहरूले पालेको गाई सधैं त्यहीँ स्थानमा गएर एउटा ढुंगामा दुध बर्साउने गरेकोले त्यहाँ गोपालेहरूले शिवको मन्दिर बनाएर पूजा गर्न थालेको किम्वदन्ति रहेछ । मन्दिरमा दर्शण गरिसकेपछि हामी दक्षिणकाली माताको दर्शण गर्न मन्दिरतर्फ लाग्यौं ।

दक्षिणकाली माताको मन्दिर नेपालको प्रचलित शक्तिपिठहरू मध्ये एक हो । नेपालका राजपरिवारको इष्ट देवताको नामले चिनिने दक्षिणकाली माताको दर्शण गर्न देशका कुनाकाप्चाबाट दैनिक हजारौं दर्शणार्थीहरू आइपुग्छन् । हामी पुग्दा पनि दर्शण गर्नेको लामो लाइन् थियो । हामी लाइनमा बसेर दर्शण गर्नतिर लागेनौं । विनिसाले किनेकी फूल, प्रसादहरू मन्दिरमा पूजा गर्ने एकजनालाई दिएर चढाउन लगाइन् । उनी मन्दिरको बाहिरबाटै लामो समयसम्म ध्यानमग्न भई प्रार्थना गरिरहिन् । के बर मागिन् कुन्नि थाहा भएन तर आँखा बन्द गरेर निक्कैबेर बसिरहेकी थिइन् । अघिको फूलप्रसाद लानेले प्रसाद ल्याइदिइसकेको थियो । उनले सबैलाई नरिवलको एकएक टुक्रा प्रसाद बाँढिन् । हामी प्रसाद खाइवरी फर्पिङ बजारतिर उक्लियौं । फर्पिङ बजार निक्कै व्यवस्थित रहेछ । कतै पुरानो झिँगटीको छानोवाला घर, कतै तेलिया इट्टा विछ्याएको गल्लि सडक, पुरानो टुँडाल अनि सफा सतल युक्त मन्दिरहरूले मनमोहक बनायो । आधुनिकताले छपक्कै छोपिएता पनि भित्रि रहनसहन भने मल्ल कालिन् छँनक अझै पाइदो रहेछ फर्पिङमा ।

फर्पिङ बजारको सेरोफेरो घुमेपछि हामी एउटा नेवारी खाजा पसलमा बस्यौं । सबैले आ–आफ्नो रूचि अनुसारको खाजा माग गरे । मैले चटामरी माग गरेँ भने विनिसाले मःमः । आधा चटामरी त उनैले सिध्याइन् । उनले अडर्ड गरेकी मःमः भने तीन पिस् मलाई पनि खाना दिइन् । हाम्रो मित्रतामा सबै साथीहरूले फरक–फरक धारणा व्यक्त गर्न थालिसकेका थिए । हुन त उनको मनमा के थियो थाहा भएन । तर मलाई भने उनीसँगको सामिप्यता रमाइलो लागिरहेको थियो । हामी खाजा खाएर बजार नजिकै रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको अवलोकन भ्रमण गर्न गयौं । कुनैबेला राजा महाराजाहरू दक्षिणकाली माताको दर्शण गरी बास बस्न र रमाइलो गर्न बनाएको गृश्मकालिन दरबार भएको सो स्थानलाई स्वर्गको बगैँचासमेत भनिँदो रहेछ । जहाँ बहादुर शाहलाई नजर बन्दमा राखिएको र नजर बन्दकै बेला बहादुर शाहको मृत्यु वा मारिएको थियो रे । वि.सं. २००७ सालमा राजा त्रिभुवनको पालामा बोर्डिङ स्कुलको रूपमा खोलिएको सो स्कुल नेपालको पहिलो बोर्डिङ स्कुल रहेछ । अहिले सर्वसाधारणले पढ्ने सामुदायिक विद्यालय ऐतिहासिक धरोहरको रूपमा आफ्नो साख धान्दै रहेछन् । विद्यालयको अवलोकन गरेपछि बजारभन्दा केही माथि भित्तामा रहेको पध्मसम्भव गुम्बा हेर्न पुग्यौं । गुम्बाको अवलोकनको क्रममा विनिसाले अलि बढीनै धार्मिकता देखाइन् । खुव मन लगाएर ध्यान गरेकी हुन्थिन् । गुम्बा सफा अनि आकर्षक फूलहरूले शुसोभित रहेछ । गुम्बा घुमेर हामी फर्कियौं । माथि बज्रयोगिणी र पुरानो मनकामनाको मन्दिर छ भन्थे । समयको अभावले हामी त्यतातिर जान असमर्थ भयौं ।

बजारभन्दा अलि तल, बस्तिभन्दा केही पर रहेको शिखरापुर सामुदायिक क्याम्पस अवलोकन गर्न हामी त्यहाँ पुग्यौं । शिखरापुर क्याम्पसको आफ्नै पृष्टभूमि रहेछ । यहाँ विद्यालय नियमित जान नपाउने र बिचैमा पढाई छोडेका तर पढ्ने इच्छा भएका कामकाजि विद्यार्थीहरूलाई खुल्ला विद्यालयको रूपमा पढ्ने सुविधा रहेछ । यहाँ शिशु कक्षादेखि ब्याचलरसम्मको पठनपाठन हुँदो रहेछ । सामुदायिक भएपनि विद्यालय व्यवस्थित लाग्यो । यो भेगका जनताको शैक्षिक स्तरवृद्धिमा विद्यालयको भूमिका उच्च रहेको पायौं । प्राविधिक तथा शीप विकासमा यो विद्यालयले विभिन्न कार्यक्षेत्रको तालिम समेत संचालन गर्दो रहेछ । त्यसपछि हामी शेषनारायणको दर्शण गर्न त्यतातिर लाग्यौं । शेषनारायण कुण्डाको रंगीविरंगी माछाहरू देखेर हामी दंग प¥यौं । नारायणको अवतारको रूपमा लिने कुण्डको माछा कसैले मारेर खाने गर्दैन रहेछ । कसैले मारिहाल्यो भने उसलाई कोर रोग लाग्ने जनविश्वास रहेकोले माछाको संरक्षण भएको रहेछ । ढुंगाको पहराको फेदमा रहेको शेषनारायणको दर्शण गरेपछि मन्दिरको आडमै रहेको पहरामा एउटा खोपा जस्तो तखता रहेछ । तलबाट सिक्का फाल्दा जसको सिक्का ती खोपामा अडिन्छ, उसको मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहेछ । सबैले सिक्का फाले । विनिसाले फालेकी सिक्का खोपाभित्र पसेपछि उनी निक्कै खुशी देखिइन् ।

हाम्रो अवलोकन टोली डल्लु आइपुग्यौं । डल्लुको विभिन्न बौद्ध स्कुलहरू, बौद्ध गुम्बाहरू अवलोकन गर्दै अमिताभ बुद्धको ठूलो प्रतिमा भएको ठाउँ पुग्यौं । बुद्ध प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको रहेछ । निक्कै सुन्दर बुद्ध प्रतिमा देखेर हामीले केही शान्ति अनुभव ग¥यौं । फूलैफूलको बगैंचामा केहीबेर टहलेपछि हामी पुनः डल्लु फर्केर मूल सडकमा जम्मा भयौं । यसरी हामीले दक्षिणकाली नगरको सेरोफेरो घुमी त्यहाँको सबैपक्षको अवलोकन ग¥यौं । हामी सबै प्रफुल्लित हुँदै आयोजकलाई धन्यवाद ज्ञापन ग¥यौं । त्यसपछि सबैसँग विदावारी भई आ–आफ्नो गन्तव्यतिर लाग्ने तरखरमा लाग्यौं । सबैजना एकै परिवारको सदस्यहरू छुट्टिन लागेको जसरी केही खुशी केही विस्मित अनुभूतिहरूका साथ एकअर्काबाट हामी छुट्टिँदै थियौं ।

छुट्टिने बेलामा विनिसाले बढी नै आत्मीयता दर्शाइन् । छुट्टिने बेलामा उसले देखाएको एककिसिमको आत्मियताले मन भारी बनायो । सम्झनाको अनगिन्ती लहरहरू मनमा लिएर उनी दक्षिणकाली मन्दिरमा दर्शनार्थी छोडेर फर्केको खाली ट्याक्सीमा चढेर विदाइको हात हल्लाइन् ।

लेखक सुसेली साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर