देशभर गर्मी ह्वात्तै बढ्दै, सतर्कता अपनाउन अनुरोध
काठमाडाैं । नेपालमा हाल स्थानीय वायु प्रणालीको आंशिक प्रभाव सक्रिय रहेको मौसमविद्हरूले जनाएका छन् । देशभर न्यूनतम र अधिकतम तापक्रम क्रमशः बढ्दो क्रममा रहेको छ, जसको प्रभाव जनजीवनदेखि कृषि, स्वास्थ्य र दैनिक गतिविधिसम्ममा देखिन सक्छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली देखिए पनि अन्य अधिकांश क्षेत्रको मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आगामी दिनहरूमा देशभर तापक्रम अझै बढ्ने अनुमान गरिएको छ । विशेष गरी मध्य र पश्चिमी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावना रहेकोले सुरक्षित रहन, खुला स्थानमा नबस्न, विद्युतीय उपकरणहरूको प्रयोगमा सावधानी अपनाउन र मौसम अनुसार योजना बनाउन समेत अनुरोध गरिएको छ ।
सुझावहरू:
अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउने ।
बिहान वा साँझको समयमा मात्र घरबाहिर निस्कने ।
कृषकहरूले खेतीपातीमा सम्भावित असरको पूर्वतयारी गर्नुपर्ने ।
मौसमको बदलिँदो स्वरूपलाई ध्यानमा राख्दै महाशाखाले नागरिकहरूलाई सचेत रहन र आधिकारिक स्रोतबाट प्राप्त सूचना अनुसार मात्रै कदम चाल्न सुझाव दिएको छ ।
Shares