हकप्रद प्रस्तावसहित युनाईटेड मोदीले बोलायो साधारणसभा
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले एघारौं वार्षिक साधारणसभा आगामी चैत २७ गते बिहान ११ बजे कालीमाटी बैंक्वेट हलमा आयोजना गर्ने भएको छ। कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरू पेश गरिने छन्, जसमा प्रमुख रूपमा हकप्रद सेयर निष्काशन संशोधन गरी १ः१ को साटो १ः०.६५ अनुपातमा जारी गर्ने प्रस्ताव समावेश छ। साथै, अधिकृत तथा जारी पूँजी वृद्धि, हकप्रद निष्काशनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने तथा प्रबन्धपत्र एवं नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गरिनेछन्। त्यसैगरी, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरू समेत सभामा प्रस्तुत गरिनेछन्।
साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार चैत ७ गतेसम्म कायम सेयरधनीहरू सभामा सहभागी हुन योग्य रहनेछन्।
Shares