काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरीका लागि नेत्रज्योति संघद्धारा २ हजार थान चस्मा हस्तान्तरण
काठमाडौँ । नेपाल नेत्रज्योति संघद्धारा काठमांडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि धुवा, धुलो तथा घामबाट बच्न २ हजार थान चस्मा (सन ग्लास) हस्तान्तरण गरिएको छ । ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएको सहयोगमा संघले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उक्त चस्मा हस्तान्तरण गरेको हो ।
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथ काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बिच नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्त र ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रुपमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक(डिआईजी) पोषराज पोखरेललाई उक्त चस्मा हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले बढि समय धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्नुहुने ट्राफिक प्रहरीहरुमा आँखाको समस्या देखिने जोखिम बढि हुने भएकोले वहाँहरुको आँखाको सुरक्षाका लागि चस्मा वितरण गरिएको बताउनुभयो ।
त्यस्तै अध्यक्ष पन्तले नेपालमा पछिल्लो समय हुने गरेका सडक दुर्घटना न्यूनिकरणका लागि पनि सवारी चालकहरुको नियमित आँखा परिक्षण गरिनुपर्ने कुरामा जोड दिँदै उक्त कार्यमा संघलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको आँैल्याउनुभयो ।
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक(डिआईजी) पोषराज पोखरेलले ट्राफिक प्रहरीको समस्या बुझि उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीहरुका लागि चस्मा हस्तान्तरण गरेकोमा संघ र ह्याल्पिङ्ग ह्यान्डलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएका अध्यक्ष नारायण श्रेष्ठले दुर्घटना न्यूनिकरण, सवारी व्यबस्थापन र हाम्रो सुरक्षामा निरन्तर सेवा प्रवाह गर्नुहुने ट्राफिक प्रहरीहरुको आँखाको सुरक्षाका लागि आफ्नो तर्फबाट केहि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो सहयोग भविश्यमा पनि निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल नेत्रज्योति संघका सचिव वरिष्ठ अधिवक्ता हरीप्रसाद शर्माले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्र, ह्याल्पिङ्ग ह्यान्डका कन्ट्री डाईरेक्टर प्रशुराम दाहाल र काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले संघ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिनुभयो । संघअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १ सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म संघ ले नेपाली नागरिक तथा अन्य देशका गरी कूल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।
Shares