एनआईसी बैंकको लाभांश र एउटा लोककथा !

अर्थकागज
प्रकाशित: ३१ भदौ २०८०
Image description

लाभांशको चर्चा गर्नु अघि पहिला लोककथाको कथासारतर्फ लागौं l

बिहे गरेर गएको छोरीलाई लोग्ने र आमालाई ज्वाइँ मन परेनछ l आमाले छोरीको लागि अर्को ज्वाइँ खोजेर छोरीलाई फिर्ता बोलाईछन् l छोरी जिम्मा लाउन पहिलो ज्वाइँ आफैँ गएछ l बाटामा भेटिएको बाघलाई ज्वाइँले खूकुरी प्रहार गरी घाइते पारेपछि यस्ता कुरा सामान्य हुन् कसैलाई नभन्नु भनेछ l माइतीघरमा पुगेकै दिन आमाले ठिक्क पारेको नयाँ ज्वाइँसँग बुइंगलमा सुत्न गएछन l बुइंगलमा अन्न खान आएको मुसा समाउन खोज्दा कान समातेछ र तानातानमा कान चुँडिएपछि ‘मैले काटें मुसाको कान, ससुरालीको बचाएँ धान’ भन्दै चिच्याउन थालेछ l यो देखेर केटीलाई पहिलो लोग्नेले झन्डै बाघ मार्दा पनि यस्तो कुरा सामान्य हुन् भनेको झल्झली सम्झन थालिछ र उही राती नै घरको पिंढीको कुनातिर रात बिताईरहेको लोग्नेसँग घुस्रिन गईछ l भोलिपल्ट बिहानै बुढाबुढी आफ्नो घर फर्केछन l

एनआईसी बैंकले २ वर्षसम्म नियामकीय कारण लाभांश वितरण गर्न सकेन l अहिले तेस्रो वर्षमा ३० प्रतिशत लाभांश घोषणा गरेको छ l यसरी घोषित लाभांशको बारेमा बैंक र बैंकको कार्यकारी प्रमुख अनौठो के के गरे जस्तो प्रचारमा उत्रेका छन l यस बैंकले घोषणा गरेको लाभांश बैंकिंग क्षेत्रको सबैभन्दा बढी हुने कुरो पनि लगभग पक्कापक्की छ l वर्षको आधारमा यो सबैभन्दा बढी हो l तर, विगत दुई वर्षको संचित नाफामा तेस्रो वर्षको नाफा पनि जोड्दा तेस्रो वर्षमा दिएको लाभांशलाई वर्षको सबैभन्दा धेरै भन्नु प्रोपोगण्डा मात्र हो l

एनआईसी बैंकले गरेको प्रचारको अगाडि एभरेष्ट बैंकले गत र यस वर्ष दिएको लाभांश नै ४० प्रतिशत छ l गतभन्दा अघिल्लो वर्षको १० प्रतिशत पनि जोड्दा ५० प्रतिशत हुन्छ l यस हिसाबले ३ वर्षको औसत झन्डै १७ प्रतिशत हुन्छ l एभरेष्टले आर्जित नाफा वितरण गरेर पनि अझै २० रुपैयाँ बाँड्न मिल्ने रकम बाँकी नै रहन्छ l जबकी एनआईसी बैंकको अहिले घोषणा गरेको लाभांशलाई ३ वर्षको औसत हिसाब गर्दा १० प्रतिशत मात्र हुन्छ l

एनआईसी बैंकले ३ वर्षमा दिएको लाभांशलाई जुन हिसाबले प्रचार गरेको/गरिएको/गराईएको छ त्यसलाई लोककथाको नयाँ ज्वाइँले मुसाको कान काटेर ससुरालीको धान जोगाएको भने जस्तै हो l एभरेष्ट बैंकको लाभांशलाई पुरानो ज्वाइँले बाघसँग खेलेको कुस्तिलाई सामान्य कुरो हो भने जस्तै हो l

प्रतिक्रियाहरू

राजेस शाक्य

2 years ago

सही हाे

सम्बन्धित खबर