विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

अर्थकागज
प्रकाशित: ०९ मंसिर २०८३
Image description

काठमाडौं । नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा आएको हो ।

सरकारले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त लक्ष्य पूरा गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्धारित लक्ष्यभन्दा पनि कम चुहावट भएपछि सरकारले विद्युत् चुहावट नियन्त्रणमा प्रगति गरेको देखिएको छ ।

प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा विद्युत् व्यवस्थापनका कारण चुहावट हुने गरेको छ। पछिल्लो समय प्राविधिक समस्या देखिनेबित्तिकै तत्काल समाधान गर्ने प्रणाली विकास गरिएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको छ ।

विद्युत् सञ्जालको स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक पक्षमा सुधारलाई तीव्रता दिँदै चुहावट नियन्त्रणको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर