ओली र लेखक आज रिहा हुने सम्भावना कति छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक आज थुनामुक्त हुने सम्भावना रहेको छ ।
ओली र लेखकविरुद्ध जिल्ला अदालत काठमाडौंले तेस्रोपटक ५ दिनको लागि लिएको म्याद आज सकिन लागेको हो ।
ओली र लेखकविरुद्ध अब म्याद थप नगर्न भन्दै सर्वोच्च अदालतले दिएको परमादेशका आधारमा उनीहरू आज रिहा हुने सम्भावना रहेको छ । गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई म्याद थप नगर्न परमादेश आदेश जारी गरेका थिए । सर्वोच्चले अहिले थप गरेको म्याद भित्र नै अनुसन्धान टुंगाउन र अनुसन्धान नसकिएमा ओली र लेखकलाई रिहा गरेर अनुसन्धान जारी राख्न आदेश दिएको थियो ।
तर प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतलमा अभियोजन दर्ता गरी थुनछेक बहससमेत सुरु भएका खण्डमा भने ओली र लेखक तत्काल रिहा नहुन सक्ने पनि देखिएको छ । मुद्धा दर्ता भएर थुनछेक बहस शुरु भएपछि भने उनीहरूको रिहाई जिल्ला अदालत, काठमाडौँको आदेशमा भरपर्ने देखिएको छ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्नेमध्ये कुनै आदेश अदालतले दिन सक्छ ।
गत भदौ २३ र २४ को आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो ।
Shares