उदयपुरमा राष्ट्रिय बङ्गुर अनुसन्धान केन्द्र स्थापना हुने
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ४ बसाहा वर्षे डाँडामा राष्ट्रिय बङ्गुर अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । ललितपुरको खुमलटारमा रहेको राष्ट्रिय बङ्गुर अनुसन्धान केन्द्र र धनकुटाको पाख्रीबास स्थित कृषि फर्मसमेत उदयपुरको बसाहा स्थित वर्षे डाँडामा स्थानान्तरण गरिने भएको छ ।
खुमलटारमा बस्ती बढ्दै गएको र स्थानीयले बङ्गुर फारमबाट आएको दुर्गन्धले बस्न गाह्रो भएको र अनेकौ प्रकारका रोग समेत फैलन सक्ने भएको भन्दै बिरोध गरेपछि उक्त बंगुर फारम उदयपुरको चौदण्डीगढी नपा ४ स्थित बसाहा वर्षे डाडामा सार्न लागिएको बताइएको छ । नयाँ ठाउँ फराकिलो र कृषि mार्म तथा बङ्गुर फार्मकालागि उपयुक्त ठाउँ भएकोले सार्न लागिएको बताइएको छ ।
उदयपुरको गाईघाट स्थित प्रदेश सरकार मातहतको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय पूमुख राम नारायण साहले दिएको जानकारी अनुसार धनकुटाको पाख्रीवास स्थित कृषि फर्मको अगुवाईमा पाख्रीबास कृषि फर्मकोलागि र खुमलटारको बङ्गुर अनुसन्धान केन्द्रको लागि जग्गा व्यवस्थापनकालागि अध्ययन भएको छ । चौदण्डीगढी नगरपलिका वडा नं ४ स्थित बसाहाको वर्षे डाँडामा जग्गा हेरिएको छ । पहिलो चरणको छलफल पनि भैसकेको हुँदा नेपाल सरकारबाट जग्गा प्राप्तीकालागि आवश्यक प्रक्रिया अघि बढेको छ । चौदण्डीगढी नगरपालिकाबाट पनि सहमती भैसकेको भेटेरीनरी अस्पताल प्रमुख साहले बताए ।
कार्यालय प्रमुख साहका अनुसार बसाहामा उच्च स्तरीय प्राविधिक टोलीले स्थलगत रुपमा जग्गाको अध्ययन गरेको र स्थानीयलाई असर नपर्ने गरी उच्च प्रविधिको प्रयोग गरेर बैज्ञानिक तवरले राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र बनाउने योजना रहेको छ ।
Shares