आजको मौसम: बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

अर्थकागज
प्रकाशित: ०७ साउन २०८२
Image description

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानको नजिकै रहेकाले जलवाष्पयुक्त हावाको प्रभाव बढेको हो । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम सामान्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ ।

दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी, बागमती र गण्डकी प्रदेशका कुनै-कुनै ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।राति पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमहरू जस्तै: पहिरो, बाढी र खोलानालामा पानीको बहाव बढ्ने खतरालाई मध्यनजर गर्दै सर्वसाधारणलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन विशेष अनुरोध गरेको छ । यात्रा गर्दा वा नदी तटीय क्षेत्रमा रहँदा विशेष ध्यान पुऱ्याउनसमेत सुझाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर