बढ्यो अडलटमा हुने कारोबार, पुसमा मात्रै ७१ करोड ३१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच

अर्थकागज
प्रकाशित: १९ माघ २०८१
Image description

काठमाडौं । पुसमा मात्र ७१ करोड ३१ लाख रुपैयाँभन्दा बढीको ३६ लाख २६ हजारभन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा मङ्सिरको तुलनामा पुसमा अडलट कारोवार रकम ४४ करोड ५४ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । मङ्सिरमा २६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको ३ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोवार भएको तथ्यांक नेप्सेले सार्वजनिक गरेको छ। अडलट कारोबार कित्ता भने मङ्सिरको तुलनामा पुसमा ३२ लाख ५७ हजारभन्दा बढीले वृद्धि भएको छ ।

अडलट धितोपत्रको सहज कारोबारका लागि धितोपत्र दोस्रो बजार सञ्चालकले वातावरण बनाईदिनुपर्ने माग लगानीकर्ताहरूले गरेका छन् । नियमित कारोबारमा अडलट कारोबारका लागि नेप्सेले छुट्टै प्लेटफर्म सञ्चालन गरे पनि मार्केट डेप्थमा अडलटको कारोबार तथ्यांक नदेखिने भएकाले लगानीकर्तालाई कारोबारमा असहजता भएको गुनासो गरेका छन् । अडलट कारोबारको तथ्यांक नेप्सेको इन्डेक्ससँग नजोडिने अर्थात् वास्तविक कारोबारमा गणना नहुने भएकाले अडलट कारोबारको मार्केट डेप्थ नदेखाइएको दोस्रो बजार सञ्चालक नेप्सेले बताउँदै आएको छ ।

लगानीकर्ताहरूले आफूसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अडलटमा कारोबार गर्न सक्ने व्यवस्था रहेको छ। लगानीकर्ताको सुविधालाई ध्यानमा राखी २०७९ वैशाखदेखि हरेक दिन अडलट कारोबार गर्न सकिने व्यवस्था नेप्सेले गरेको हो। त्यसअघि धितोपत्र कारोबारमा अडलटसम्बन्धी व्यवस्था रहे पनि शुक्रवार मात्र कारोबार हुने गरेको थियो । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको इकाई अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता अडलट कारोबार इकाई हुने व्यवस्था छ । त्यस्तै, धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएको भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ भएको भए १ कित्ता कारोबार इकाई हने व्यवस्था पनि उक्त विनियमावलीमा गरिएको छ । यस व्यवस्थालाई आधार मान्दा मूल्यका हिसाबमा धितोपत्रको अडलट कारोबार इकाई तय गरिएको छ । उल्लिखित कारोबार इकाई वा सोभन्दा वढी धितोपत्र भएका धितोपत्रधनीहरूले त्यस्तो धितोपत्रलाई अडलट बनाई कारोबार गर्न नपाउने व्यवस्था रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर