गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ भर्ने आज (पुस ३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो ।
त्यस्तै, ३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र अर्को ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
Shares