पाँच वाणिज्य बैंकहरुको वित्तिय विवरण प्रकाशित, कुनको अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २५ साउन २०८२
Image description

काठमाडौं – हालसम्म ५ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार अधिकांश बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ भने एक बैंकको नाफा भने घटेको छ।

प्रकाशित वित्तिय विवरण अनुसार माछापुच्छ्रे बैंकले चालु वर्षमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढी हो। बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड पुगेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा पुगेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड र लाभांश क्षमता ९.२३ प्रतिशत छ।
त्यस्तै कुमारी बैंकको नाफा ४०० गुणाले बढेर २ अर्ब ११ करोड पुगेको छ। खुद ब्याज आम्दानी करिब ७ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०६ पैसा पुगेको छ। तर, असार मसान्तसम्ममा वितरणयोग्य मुनाफा २ अर्ब ऋणात्मक छ।
सिद्धार्थ बैंकको वितरणयोग्य नाफा दुई सय २० प्रतिशतले बढेर १ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष यो ५८ करोड मात्र थियो । खुद नाफा १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड पुगेको छ। खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड पुगेको छ भने सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले वृद्धि भएको छ। खराब कर्जा २.६२ प्रतिशतमा सीमित भएको बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा र नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ।
कृषि विकास बैंकले यस अवधिमा ४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी करिब ७ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड पुगेको बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा रहेको छ। असार मसान्तसम्ममा वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड र लाभांश क्षमता १८.४२ प्रतिशत छ।
सिटिजन्स बैंकले भने अघिल्लो वर्षको तुलनामा नाफा २ प्रतिशतले घटेको छ । यस वर्ष बैंकले १ अर्ब २९ करोड नाफा गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ३२ करोड नाफा थियो। खुद ब्याज आम्दानी करिब १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड पुगेको बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा र वितरणयोग्य मुनाफा ७७ करोड छ। लाभांश क्षमता ५.२५ प्रतिशत रहेको छ।

कुन बैंकको अवस्था कस्तो ?

प्रतिक्रियाहरू

सम्बन्धित खबर