अफ्रिकी महादेशको नक्शा परिवर्तन गर्न राष्ट्रसंघमा किन भयो मतदान ?

अर्थकागज
प्रकाशित: १९ भदौ २०८३
Image description

काठमाडौँ । अफ्रिका महादेशको वास्तविक आकारलाई सही रूपमा देखाउने नयाँ विश्व नक्सा प्रयोग गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको छ ।

टोगोको पहलमा ल्याइएको ‘नक्सा सच्याऔँ’ प्रस्तावको पक्षमा फ्रान्स र बेलायतसहित १६४ राष्ट्रले मतदान गरेका थिए । अमेरिकाले भने प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने ६ राष्ट्र मतदानमा सहभागी भएका थिएनन् ।

महासभाबाट पारित प्रस्ताव बाध्यकारी भने छैन । तर यसपछि विश्वभरका विभिन्न संस्थाले प्रयोग गर्ने नक्सामा परिवर्तन आउने अपेक्षा गरिएको छ ।

सोह्रौँ शताब्दीदेखि व्यापक रूपमा प्रयोग हुँदै आएको मर्केटर नक्सामाथि अफ्रिकाको आकारलाई वास्तविकभन्दा निकै सानो देखाएको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको थियो । उक्त नक्सामा अफ्रिका र ग्रिनल्यान्ड लगभग उस्तै आकारका देखिन्छन् । जबकि अफ्रिका ग्रिनल्यान्डभन्दा करिब १४ गुणा ठूलो छ ।


आलोचकहरूले यस्तो नक्साका कारण भूमध्यरेखानजिक रहेका देशहरूको विकास आवश्यकता, स्रोतसाधन र सम्भावनालाई वास्तविकभन्दा कम आँकलन गर्ने धारणा विकास भएको बताएका छन् । मर्केटर नक्सा सन् १५६९ मा फ्लेमिस भूगोलविद् जेरार्डस मर्केटरले तयार गरेका थिए । विश्वभर समुद्री यात्राका लागि युरोपेली अन्वेषकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त नक्सा तयार गरिएको थियो ।

मर्केटर नक्सामा देखिने आकारको असमानता पृथ्वीको गोलाकार सतहलाई दुई आयाम भएको कागजी नक्सामा पूर्ण रूपमा सही ढंगले उतार्न नसकिने कारण उत्पन्न भएको हो । विश्वको नक्सा बनाउँदा कुनै न कुनै पक्षमा केही सम्झौता गर्नुपर्ने हुन्छ ।

मर्केटर नक्साले पृथ्वीको गोलाइ देखाउन भूमध्यरेखानजिकका देशलाई वास्तविकभन्दा सानो र ध्रुवतर्फका देशलाई वास्तविकभन्दा ठूलो देखाउने गरेको छ । यही समस्या सुधार्ने प्रयासस्वरूप सन् २०१८ मा भूगोलविद्हरूको एक समूहले सबै महादेशको क्षेत्रफललाई तुलनात्मक रूपमा सही देखाउने नयाँ नक्सा तयार गरेको थियो । त्यसलाई ‘समान क्षेत्रफल पृथ्वी नक्सा’ नाम दिइएको थियो ।

गत फेब्रुअरीमा अफ्रिकी संघका ५४ सदस्य राष्ट्रले उक्त नक्सा अपनाएका थिए । अफ्रिकी संघले यो नक्साले सबै महादेशको आकार, विशेषगरी अफ्रिकाको क्षेत्रफल, अझ सही रूपमा प्रस्तुत गर्ने बताएको थियो । नक्सा सुधार अभियानमा संलग्न समूहहरूले अफ्रिकाको विशाल क्षेत्रफल देखाउन अमेरिक, चीन, भारत, जापान, मेक्सिको र युरोपको ठूलो भूभागसमेत अफ्रिकाभित्र अटाउन सक्ने र अझै जमिन बाँकी रहने बताएका छन् । मतदानअघि टोगोका विदेशमन्त्री रोबर्ट दुस्सीले भनेका थिए- 'न्यायपूर्ण विश्वको सुरुवात न्यायपूर्ण नक्साबाट हुन्छ ।'

उनले यसअघि संयुक्त राष्ट्रसंघको बैठकमा नक्सा कहिल्यै तटस्थ नहुने बताएका थिए । उनका अनुसार नक्साले मानिसको धारणा निर्माण गर्छ र विश्वमा विभिन्न जनता तथा महादेशको स्थानलाई कसरी बुझ्ने भन्ने कुरामा प्रभाव पार्छ । टोगोको प्रस्तावलाई फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोले पनि समर्थन गरेका थिए। उनले फ्रान्सको विदेश मन्त्रालयले मर्केटर नक्साको प्रयोग बन्द गर्ने बताएका थिए । 'नक्सा परिवर्तन गर्दा विश्व परिवर्तन हुँदैन। तर विश्वलाई विकृत रूपमा प्रस्तुत गर्ने चित्रण सच्याउनु सत्यतर्फको एउटा कदम हो,' उनले भनेका थिए।

तर संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि यारिना फेरेन्सेभिचले भने प्रस्तावको आलोचना गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय शान्ति, समृद्धि र असल सम्बन्धजस्ता वास्तविक समस्यामा ध्यान दिनुपर्ने बेला महासभाले सोह्रौँ शताब्दीको नक्सा र त्यसले क्षतिपूर्ति तथा मानसिक न्याय प्रवर्द्धनमा खेलेको भूमिकामाथि छलफल गर्नु हास्यास्पद भएको बताएकी थिइन् ।


यसअघि मार्चमा पनि अमेरिकाले अफ्रिकासम्बन्धी अर्को प्रस्तावप्रति आपत्ति जनाएको थियो । उक्त प्रस्तावमा एटलान्टिक दास व्यापारलाई 'मानवजातिविरुद्धको सबैभन्दा गम्भीर अपराध' घोषणा गरिएको थियो ।

अफ्रिकालाई विश्व नक्सामा गलत रूपमा प्रस्तुत गर्नु केवल नक्सा निर्माणसम्बन्धी त्रुटि नभई कथ्यसँग जोडिएको विषय भएको अफ्रिकासम्बन्धी गलत सूचनाविरुद्ध काम गर्ने संस्था ‘अफ्रिका नो फिल्टर’की लिराटो मोगोआत्लेले बताएकी थिइन् ।

उनका अनुसार मर्केटर नक्सा हटाउने अभियान अफ्रिकाबारे लामो समयदेखि फैलिँदै आएको गलत र भ्रामक सूचनाको अन्त्य गर्ने प्रयासको एउटा हिस्सा हो ।

केन्याका भूगोलविद् किओको मुएन्डोले पनि मर्केटर नक्साले अफ्रिकी महादेशको विशाल प्राकृतिक स्रोत, जनसंख्या र लगानीका अवसरलाई अप्रत्यक्ष रूपमा कम महत्त्वपूर्ण देखाउँदै आएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर