पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

अर्थकागज
प्रकाशित: ०८ पुस २०८१
Image description

काठमाडौँ । पोखराको संघर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिव पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२३, कास्कीको तगरास्थितमा सञ्चालित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको भन्दै सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रहरीलाई पत्र पठाएको थियो। 

२०८१ पुस ७ गतेको पत्रानुसार सहकारीका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका-८, नयाँबजार बस्ने ३३ वर्षका विक्रम पाण्डे र सोही सहकारीका सचिव तथा व्यवस्थापक पोखरा महानगरपालिका-३१, बेगनासका ३४ वर्षीय कमल सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो। अध्यक्ष पाण्डेलाई पोखरा १७ बिरौटाबाट र सचिव सुवेदीलाई सहकारीको कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‌उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट सोमबार ७ दिनको अनुमति लिएको छ। 

 

प्रतिक्रियाहरू

सम्बन्धित खबर