उदयपुर खण्डको मदन भण्डारी लोक मार्गमार्ग व्यक्तिका नाममा
उदयपुर । उदयपुर जिल्लामा पर्ने राष्ट्रिय गौरवको आयोजना बैकल्पिक लोकमार्ग (मदन भण्डारी मार्ग) जग्गाधनी व्यक्तिको नाममा नै रहेको रहस्य खुलेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ४ को बसाहादेखि कटारी नगरपालिका सिन्धुलीको सीमासम्म करीव ८५ किलोमीटर पुरै सडकको लालपुर्जा सडक विभागको नाममा नभै जो व्यक्तिको जग्गामा सडक निर्माण गरिएको छ सोही व्यक्तिका नाममा नै सडक कायम रहेको रहस्य खुलेको हो ।
उदयपुर खण्डमा पर्ने मदन भण्डारी लोकमार्ग चौदण्डीगढी नगरपालिका , त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका हुँदै सिन्धुलीको दुधौलीबाट भिमानमा विपि लोकमार्गमा जोडिन्छ । यस क्षेत्रको सडक निर्माण गर्दा व्यक्तिको जग्गामा सडक निर्माण गरिएको छ । पुरानो बाटोलाई नै फराकिलो पारेर मदन भण्डारी मार्ग निर्माण गरिएको छ । तर जग्गा धनीहरुलाई मुआब्जा दिइएको छैन र मालपोत ऐन २०३४ अनुसार जग्गा अधिग्रहण प िनगरिएको छैन ।
मालपोत कार्यालय उदयपुरका प्रमुख मालपोत अधिकृत कुमार बहादुर खड्काका अनुसार मदन भण्डारी लोकमार्गको सडक जग्गा अधिग्रहण नगरी गरेको र जग्गाधनीहरुलाई मुआब्जा पनि नदिएको र सडकका नाममा जग्गा लगत कट्टा नभएकोले पछि जग्गाधनीहरुले किचोला गर्न सक्छन् ।
सडक जस्तो महत्वपूर्ण भौतिक पूर्वाधार निर्माण गर्दा जग्गाधनीबाट सडकका नाममा जग्गा लिएपछि लगतकट्टा गरेर मात्र सडक निर्माण गर्नु पर्नेमा सो नगरेका कारण सडक, मालपोत, नापी कार्यालयलाई समेत पछि समस्या हुने र एकैपटकमा हुने काममा दोहोरो तेहोरो खर्चसमेत हुने मालपोत प्रमुख खड्काले बताए ।
यस विषयमा मदन भण्डारी लोकमार्ग हेर्ने गाईघाट दिक्तेल सडक योजनाका सुचना अधिकारी इन्जिनियर प्रभात किरण राईले सडक निर्माणका क्रममा सम्बन्धित जग्गाधनीसँग आपसी सहमतीका आधारमा सडक निर्माण गरिएको हो । जग्गाको मुआब्जा दिइएको छैन । सडकमा परेका घर टहरा गोठको भने मुआब्जा दिइएको छ । सडकमा परेकोम सबै जग्गा जग्गाधनीकै नामा रहेको र लगत कट्टा गर्न बाँकी रहेको सूचना अधिकारी राईले बताए ।
सूचना अधिकारी राईले सडक छुट्याएर व्यक्तिका नामबाट सडक विभागका नाममा ल्याउन लगत कट्टा गर्ने काम बाँकी रहेको जानकारी दिंदै मालपोत र नापी कार्यालयसँग समन्वय गरी कर्मचारी खटाएर नाप जाँचगरी व्यक्तिको नामको सडकलाई लगत कट्टा गरी सडक कार्यालयका नाममा ल्याइने बताए ।
Shares