हिमालय आँखा अस्पतालद्धारा वालिङमा ४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

अर्थकागज
प्रकाशित: १४ पुस २०८२
Image description

वालिङ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालद्वारा वालिङ नगरपालिकाको आयोजना तथा आईकेयर फाउन्डेशनको आर्थिक सहयोगमा पुस १३ गते वालिङमा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार मोतिबिन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिबिरमा चश्मा आवश्यक देखिएका ५६ जना बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएका थियो ।

हिमालय आँखा अस्पतालकी नेत्र रोग विषेशज्ञ डा.कृष्णा गुरुङको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोली आँखा परिक्षण तथा शल्यक्रिया गरेको थियो । अस्पतालले विभिन्न विकास साझेदारहरुसंगको सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा निःशुल्क शिबिर संचालन गर्दै आईरहेको छ ।

नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी—आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ संघले विभिन्न निकायहरूसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

उहाँले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै संघले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार संघले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।

संघले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल तथा २२६ वटा आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर